पाँच प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

मोरङ

नेपालमा हाल उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको प्रभाव कायम रहेकाले आज (शुक्रबार) देशका विभिन्न भू–भागमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदलीको अवस्था छ। लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। महाशाखाले शुक्रबार दिउँसो कोशी, मधेश र बागमती प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहने तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने जनाएको छ। यस अवधिमा कोशी र मधेश प्रदेशका केही स्थान तथा हिमाली र पहाडी भू–भागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। त्यसैगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। रातिको समयमा पनि कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ भने मधेश प्रदेशलगायत तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। कोशी प्रदेशका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै, मधेश प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थान तथा देशका हिमाली भू–भागका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ।मौसमविद्हरूले वर्षा, चट्याङ तथा सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।