काठमाडौं, असार १।
पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको संयुक्त प्रभावका कारण सोमबार देशभर मिश्रित मौसम देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली तथा पहाडी भू–भागका साथै तराईका केही क्षेत्रमा आंशिक बदली रहेको छ भने अन्य स्थानमा मौसम मुख्यतः सफा रहेको छ।
महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको जनाएको छ। सोमबार दिनभर कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ।
त्यसैगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुनुका साथै उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ। कोशी प्रदेशको तराईका केही स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
रातिको समयमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान छ।
यसैबीच, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो दिन तथा गर्मी बढ्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। महाशाखाले वर्षा, चट्याङ र बढ्दो गर्मीबाट हुन सक्ने जोखिमलाई ध्यानमा राखी आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।
