दशगजा क्षेत्रमा प्रहरीमाथि तस्कर समूहको आक्रमण, असई कुटिए

सप्तरी

सप्तरी को बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीस्थित नेपाल–भारत सीमाक्षेत्रको दशगजा नजिक प्रहरी टोलीमाथि तस्कर समूहले आक्रमण गरेको छ।प्रहरी स्रोतका अनुसार बिहीबार बिहान करिब ४ बजे कपडा तस्करी भइरहेको सूचनाका आधारमा खटिएको नेपाल प्रहरी अन्तर्गत रामनगर कोदरकट्टी प्रहरी चौकीको टोलीमाथि तस्कर समूहले आक्रमण गरेको हो।सीमा स्तम्भ नम्बर २४३ नजिक पुगेको प्रहरी टोलीलाई तस्करहरूले घेराउ गर्दै कुटपिट गरेको बताइएको छ। घटनामा प्रहरी चौकीका इन्चार्ज रामकुमार यादव घाइते भएका छन्। उनीमाथि कुटपिट भएको प्रहरी स्रोतले जनाएको छ।प्रहरीका अनुसार तस्करीमा संलग्न समूहले भारतीय नागरिकसमेत बोलाएर प्रहरीमाथि आक्रमण गरेको आरोप छ। घटनापछि सीमावर्ती क्षेत्रमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको थियो।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सीमाक्षेत्रमा सुरक्षा सतर्कता पनि बढाइएको बताइएको छ। नेपाल–भारत सीमावर्ती क्षेत्रमा विगतमा पनि तस्करी नियन्त्रणका क्रममा प्रहरी र तस्करबीच झडप हुने गरेका घटनाहरू सार्वजनिक हुँदै आएका छन्।