कोशीबाट फैलिँदै मनसुन, केही स्थानमा भारी वर्षाको सम्भावना

विराटनगर, असार ६

 नेपालमा यस वर्षको मनसुन कोशी प्रदेश बाट प्रवेश गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशबाट भित्रिएको मनसुन क्रमशः देशका अन्य भू–भागमा फैलिने क्रममा रहेको छ।

हाल कोशी प्रदेशका केही क्षेत्रमा मनसुनी प्रभाव देखिएको छ भने देशका अन्य भागमा स्थानीय तथा पूर्वीय वायुको प्रभाव कायम रहेको छ। शनिबार बिहान कोशी प्रदेशका विभिन्न स्थानसहित देशका अधिकांश हिमाली तथा पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ।

कोशी, बागमती प्रदेश र गण्डकी प्रदेश का केही पहाडी क्षेत्रमा हल्का वर्षा भइरहेको छ। कोशी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रका केही स्थानमा भने बिहानैदेखि मध्यम वर्षा भएको छ। तराईका अधिकांश भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

महाशाखाका अनुसार शनिबार दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। त्यस्तै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश का पहाडी तथा हिमाली क्षेत्रमा पनि एक–दुई स्थानमा वर्षा हुन सक्ने अनुमान गरिएको छ।

कोशी प्रदेशको तराईका केही स्थान तथा मधेश प्रदेश का एक–दुई स्थानमा समेत चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। यसैबीच लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तराई क्षेत्रमा तातो लहरको अवस्था कायम रहने तथा बागमती र गण्डकी प्रदेशका केही तराई क्षेत्रमा अत्यधिक गर्मी महसुस हुन सक्ने महाशाखाले जनाएको छ।

रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग र कोशी प्रदेशका तराई क्षेत्रमा बदली रहनेछ। ती प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै, कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्र तथा कोशी प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षासमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

मौसमविद्हरूले भारी वर्षा, चट्याङ तथा सम्भावित बाढी–पहिरोको जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई सावधानी अपनाउन सुझाव दिएका छन्।