मोरङमा करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

विराटनगर, असार ६

मोरङमा करेन्ट लागेर नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ। रतुवामाई नगरपालिका–४ निवासी ४६ वर्षीय सुर्जानन्द मण्डलको विद्युत मर्मतका क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

मण्डल नेपाल विद्युत प्राधिकरणको रंगेली वितरण केन्द्रमा करार सेवामा कार्यरत कर्मचारी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शुक्रबार दिउँसो करिब १ः२० बजे रतुवामाई नगरपालिका–१ स्थित हटिया डाँडामा विद्युत पोलमा चढेर मर्मत कार्य गरिरहेका बेला उनलाई अचानक करेन्ट लागेको थियो।

करेन्ट लागेर गम्भीर घाइते भएका मण्डललाई तत्काल उपचारका लागि रंगेली अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुगेलगत्तै चिकित्सकले दिउँसो करिब २ः३० बजे उनलाई मृत घोषणा गरेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए।

घटनापछि मृतकको शव रंगेली अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

विद्युत मर्मतका क्रममा भएको उक्त घटनाले स्थानीय क्षेत्रमा शोक छाएको छ। सुरक्षा सतर्कता अपनाउँदै विद्युतसम्बन्धी प्राविधिक कार्य सञ्चालन गर्नुपर्ने आवश्यकता पुनः उजागर भएको स्थानीयवासीले बताएका छन्।