
विराटनगर। दलन बाली पकेट विकास कार्यक्रमअन्तर्गत विराटनगर महानगरपालिकाले कृषकहरूको उत्पादन वृद्धि र कृषि यान्त्रीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा कृषि सामग्री हस्तान्तरण गरेको छ।

महानगरपालिका–१९ स्थित बैजनाथपुर कृषि सहकारी संस्थालाई २४ लाख रुपैयाँ बराबरको कृषि सामग्री वितरण गरिएको हो। सो रकममध्ये १२ लाख रुपैयाँ महानगरले अनुदानस्वरूप उपलब्ध गराएको हो भने बाँकी १२ लाख रुपैयाँ सहकारी संस्थाले負वहन गरेको छ।
मंगलबार महानगर परिसरमा आयोजित हस्तान्तरण कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे, आर्थिक विकास महाशाखा प्रमुख प्रतीक गड्तौला, तथा कृषि तथा पशुपंक्षी विकास शाखाका संयोजक हिरालाल यादव लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमअन्तर्गत १ थान ट्याक्टर, २ थान मिनि टिलर, ५ थान दुई हर्स पावरका सिचाइ मोटर, ६ थान स्प्रेयर मेसिन, १ थान समरसिथल पम्प र १ थान रोटावेटर हस्तान्तरण गरिएको हो। सहकारीमा आबद्ध स्थानीय कृषकहरूले ती सामग्रीको प्रयोग गरी उत्पादनमा वृद्धि गर्ने विश्वास व्यक्त गरिएको छ।
कृषि शाखा प्रमुख यादवका अनुसार महानगर क्षेत्रमा करिब १ हजार ३७५ हेक्टर खेतीयोग्य जमिन रहेको छ। विशेष गरी वडा नम्बर ४, ६, ११, १२, १४, १६, १८ र १९ मा बढी जमिन कृषि योग्य रहेको जनाइएको छ। हाल महानगरभित्र ३६ वटा कृषक समूहहरू सक्रिय रहेका छन्, जसलाई माध्यम बनाएर महानगरले विभिन्न कृषि प्रवर्द्धन कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।