तीन प्रदेशमा भारी वर्षाकाे सम्भावना

काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । केही भूभागमा भारी वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका धेरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थान मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ ।देशका तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

कोशी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । कोशी प्रदेशको तराई र मधेस प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको विभागले जानकारी दिएको छ ।

विभागका अनुसार राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका धेरै स्थान र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थान तथा हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

मधेस, कोशी, बागमती, गण्डकी प्रदेशका तराईका धेरै तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । मधेस, बागमती, गण्डकी प्रदेशको एकदुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ ।

हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।