
विराटनगर| झापाको भद्रपुर नगरपालिका–७ मा मंगलबार साँझ प्रहरी र शंकास्पद समूहबीच झडप हुँदा प्रहरीले गोली चलाउनुपरेको छ। घटनामा झापा कचनकवल गाउँपालिका निवासी ५५ वर्षीय नसरुल मियाँ घाइते भएका छन्।

घटनास्थलमा खटिएको प्रहरी टोलीले दिएको जानकारीअनुसार मियाँको खुट्टामा गोली लागेको हो। सामान्य उपचारपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ।
भद्रपुरको हुलाकी सडक खण्डस्थित चिया पसल नजिक जाँचका क्रममा प्रहरीसँग मियाँ र भारत बिहार राज्यको किसनगञ्ज जिल्ला निवासी ३५ वर्षीय मनिसुर आलमबीच भनाभन भएको थियो। प्रहरीका अनुसार उनीहरूले जाँचका क्रममा हातपात गर्दै भाग्न प्रयास गरेपछि नियन्त्रणमा लिन ६ राउन्ड गोली प्रहार गर्नुपरेको थियो।
प्रहरीले उनीहरूको साथबाट लागुऔषध ब्राउन सुगर समेत बरामद गरेको जनाएको छ। मियाँको साथबाट १०२ ग्राम १० मिलिग्राम र आलमको साथबाट १०३ ग्राम ७० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ।
पक्राउ परेका दुबैजनालाई झापा जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भद्रपुरले जनाएको छ। घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।