झापामा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु, आमा–छोरा गम्भीर घाइते

विराटनगर ।झापाको बाह्रदशी गाउँपालिका–१ खैरबारीमा बुधबार दिउँसो भएको मोटरसाइकल र स्कुटर दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने आमा–छोरा गम्भीर घाइते भएका छन्।

दुर्घटनामा स्कुटर चालक झापा कचनकवल–३ निवासी ६० वर्षीय श्रीप्रसाद राजवंशी र मोटरसाइकल चालकको ज्यान गएको हो। मोटरसाइकल चालकको भने पहिचान खुल्न बाँकी छ। दुवै घाइतेलाई उपचारका लागि तत्कालै प्रदेश अस्पताल, भद्रपुर लगिएको थियो तर चिकित्सकले मृत घोषणा गरेका थिए।

स्कुटरमा सवार श्रीप्रसादकी बुहारी २७ वर्षीया उर्मिला राजवंशी र ३ वर्षीय नाति आयुष राजवंशी गम्भीर घाइते भएका छन्। उनीहरूको पनि भद्रपुरस्थित अस्पतालमै उपचार भइरहेको छ।

बीआर ३७ एजेड ६४४० नम्बरको भारतीय मोटरसाइकल र प्रदेश १–०१–०१६ प ९२७० नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। दुर्घटनाकाे कारणबारे थप अनुसन्धान भइरहेको छ।