प्रतिबन्धित लागू औषधसहित ८ जना पक्राउ

विराटनगर । मोरङ, सुनसरी र धनकुटाका विभिन्न स्थानहरूमा प्रहरीले छापामार कारवाही गर्दै प्रतिबन्धित लागू औषधसहित ८ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले लागू औषध गाँजा र ब्राउन सुगरसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा भोजपुरको आमचोक–८ का २१ वर्षीय अंकित मगर ९ किलो ५ सय ग्राम गाँजासहित र सुनसरी बराहक्षेत्र–६ की २० वर्षीया रोसिता गिरी, बराहक्षेत्र–९ की २० वर्षीया रस्मिता राई, ईटहरी–३ का २२ वर्षीय समित राई र ईटहरी–५ का २० वर्षीय प्रसाङ ढकाल ४ सय मिलिग्राम ब्राउन सुगरसहित रहेका छन्।

त्यस्तै, इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले बेलबारी–३ निवासी ३० वर्षीय बुद्धराज राई र ३० वर्षीया पुष्पा थापालाई १ ग्राम ६ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।

यसैबीच, जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले पाख्रीबास–४ का २७ वर्षीय मिगुर शेर्पालाई २२ थान ट्याब्लेट र २२ थान क्याप्सुलसहित नियन्त्रणमा लिएको छ।

पक्राउ परेकाहरूमाथि लागूपदार्थ सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।