काठमाडौं । देशभर सक्रिय रहेको मनसुनी प्रणालीका कारण आज (शनिबार) पनि विभिन्न प्रदेशमा वर्षाको क्रम जारी रहने भएको छ ।मौसमविद्हरूका अनुसार विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ । यसको असरले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ भने मधेश प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बागमती र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ । शनिबार दिउँसो हिमाली र पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहने तथा तराईका अधिकांश स्थानमा आंशिक बदली रहने सम्भावना छ । हिमाली भू–भागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ । त्यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा तथा कोशी र बागमती प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
तराईमा पनि वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा तथा मधेशसँगै कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
रातको समयमा पनि वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा बदली रहनेछ भने कोशी, मधेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने अनुमान छ । हिमाली भू–भागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ ।
त्यसैगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ । कोशी, मधेश र बागमती प्रदेशका पहाडी क्षेत्रका केही तथा तराईका थोरै स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले ती क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव तथा डुबानको जोखिम बढ्न सक्ने देखिएको छ । नदी–नाला आसपासका बासिन्दा, यात्रु तथा सडक प्रयोगकर्ताले विशेष सावधानी अपनाउनुपर्ने महाशाखाले जनाएको छ ।
