विराटनगर । न्यूरो हस्पिटल विराटनगरको २६औँ वार्षिकोत्सवको अवसरमा आयोजित एकदिने मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि नेपाल पत्रकार महासंघ मोरङले जितेको छ।
शुक्रबार भएको रोमाञ्चक खेलमा आयोजक न्यूरो हस्पिटललाई ४–२ गोल अन्तरले पराजित गर्दै पत्रकार महासंघ मोरङले उपाधि हात पारेको हो।
खेलको सुरुवातदेखि नै आक्रामक देखिएको पत्रकार महासंघको टोलीले पहिलो हाफमा २ गोल गरेको थियो। दोस्रो हाफमा थप २ गोल गर्दै टोलीले जित सुनिश्चित गरेको हो।
नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष सन्तोष सिग्देलको कप्तानीमा पत्रकारहरूको टोली मैदानमा उत्रिएको थियो।
उपाधि विजेता पत्रकार महासंघ मोरङको टोलीलाई न्यूरो हस्पिटलका अध्यक्ष डा. वीरेन्द्र विष्ट र कार्यकारी निर्देशक डा. अनिशा विष्टले पुरस्कार तथा ट्रफी प्रदान गरे।
प्रतियोगिताले पत्रकारिता र स्वास्थ्य क्षेत्रबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउनुका साथै खेलकुदमार्फत आपसी सहकार्य र सद्भाव बढाउने सन्देश दिएको छ।