विराटनगर, साउन २८ -विराट स्पोर्ट्स जोनद्वारा आयोजित प्रथम अन्तरविद्यालय क्रीकशल प्रतियोगिताको दोस्रो दिन बिहिवार सात खेल सम्पन्न भएका छन्। ८ ओभरको प्रारूपमा सञ्चालन भइरहेको प्रतियोगितामा आदर्श सेकेन्डरी स्कुल, जेसी बाल सदन, राइजिङ नेपाल इङ्ग्लिस बोर्डिङ स्कुल, कान्तिपुर सेकेन्डरी स्कुल, ग्रीन पिस एकेडेमी, कोशी विद्या मन्दिर र श्री पोखरिया सेकेन्डरी स्कुल विजयी भएका छन्।
दिनको पहिलो खेलमा आदर्श सेकेन्डरी स्कुलले निर्धारित ८ ओभरमा ५ विकेट गुमाएर ८९ रन बनायो। जवाफमा लर्ड बुद्ध निकेतनले ८ ओभरमा ५ विकेट गुमाउँदै ५३ रन मात्र बनाउन सकेपछि आदर्श ३६ रनले विजयी भयो। गौरव राय प्लेयर अफ द म्याच घोषित भए।
दोस्रो खेलमा बुढानिलकण्ठ सेकेन्डरी स्कुल ५.३ ओभरमा २३ रनमै समेटियो। २४ रनको सामान्य लक्ष्य पछ्याएको जेसी बाल सदनले ३.१ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्दै सहज जित हात पार्यो। आशुतोष गुरागाईं प्लेयर अफ द म्याच बने।
तेस्रो खेलमा राइजिङ नेपाल इङ्ग्लिस बोर्डिङ स्कुलले ८ ओभरमा ३ विकेट गुमाएर १४० रनको विशाल योगफल तयार गर्यो। सेन्ट जोसेफ्स सेकेन्डरी स्कुलले ८ ओभरमा ४ विकेट गुमाएर ७२ रन मात्र बनाउन सक्यो। राइजिङका ड्यानिश राजाले ४५ बलमा अविजित ११० रन प्रहार गर्दै प्रतियोगिताको पहिलो शतक पूरा गरे। उनी प्लेयर अफ द म्याच घोषित भए।
चौथो खेलमा कान्तिपुर सेकेन्डरी स्कुलले ८ ओभरमा ५ विकेट गुमाएर ६६ रन बनायो। विनायक बोर्डिङ सेकेन्डरी स्कुल ७.२ ओभरमा ५७ रनमा अलआउट भएपछि कान्तिपुर ९ रनले विजयी भयो। सुजित यादव प्लेयर अफ द म्याच घोषित भए।
पाँचौं खेलमा ग्रीन पिस एकेडेमीले ८ ओभरमा ५ विकेट गुमाएर १०३ रन बनायो। जवाफमा पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुल ६ ओभरमा ६ विकेट गुमाएर ३९ रनमा सीमित भएपछि ग्रीन पिस ६४ रनले विजयी भयो। मेराज शेख प्लेयर अफ द म्याच बने।
छैटौं खेलमा कोशी विद्या मन्दिरले ८ ओभरमा ५ विकेट गुमाएर ८६ रन बनायो। देदराज सेवालीदेवी टोडी डीएभी केडिया विश्वभारतीले ८ ओभरमा ७ विकेट गुमाएर ७३ रन मात्र बनाउन सकेपछि केभीएम १३ रनले विजयी भयो। प्रिन्स दास प्लेयर अफ द म्याच घोषित भए।
सातौं खेलमा श्री पोखरिया सेकेन्डरी स्कुलले ८ ओभरमा ६ विकेट गुमाएर ८५ रन बनायो। जवाफमा मोडर्न एरा इङ्ग्लिस स्कुलले निर्धारित ८ ओभरमा २ विकेट गुमाएर ५९ रन मात्र बनाउन सक्यो। पोखरिया २६ रनले विजयी भयो। अर्बिन शाह प्लेयर अफ द म्याच घोषित भए।
प्रतियोगिता शुक्रवार पनि निरन्तर सञ्चालन हुने आयोजक विराट स्पोर्ट्स जोनले जनाएको छ।
