
विराटनगर ।गाजामा शनिबार भएको इजरायली आक्रमणमा कम्तीमा ११० जना प्यालेस्टिनी नागरिकको ज्यान गएको छ। मारिनेमा राहतका लागि राफाहस्थित गाजा ह्युमनिटेरियन फाउन्डेशन (जीएचएफ) को केन्द्रमा खाना लिन लाइनमा बसेका ३४ नागरिक पनि छन्।

स्थानीय सञ्चारमाध्यम अलजजिराका अनुसार घटनास्थलमा पानी जस्तै रगत बगिरहेको थियो भने सहायता लिन गएका सर्वसाधारणलाई बिना चेतावनी गोली प्रहार गरिएको थियो।
दक्षिणी गाजास्थित नासेर अस्पतालले दिएको जानकारी अनुसार राहत लिन गएका सर्वसाधारणलाई इजरायली सेनाले निशाना बनाएको हो। बीबीसीका अनुसार राहत केन्द्र नजिकैको आक्रमणमा २४ जनाको मृत्यु भएको छ।
स्थानीय नागरिक सामिर शातले भने, “हामीले खाना ल्याउन ल्याएका झोलाहरू नै शव ढाक्न प्रयोग गरेका छौं। त्यो राहत केन्द्र होइन, मृत्युको एम्बुस हो।”
इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले गोली प्रहारबाट कसैलाई चोटपटक नलागेको दाबी गरे पनि एकजना सैनिक अधिकारीले “भीड हटाउन चेतावनी स्वरूप गोली चलाइएको” बताएको अलजजिराले उल्लेख गरेको छ।
मानवीय सहायता केन्द्र वरपर मात्रै ८०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने ५,००० बढी घाइते छन्। अल-अक्सा अस्पतालका प्रवक्ता खालिल अल-डेग्रानका अनुसार “धेरैजसोको टाउको र खुट्टामा गोली लागेको छ र औषधिको अभावले उपचार सम्भव छैन।”
शनिबार गाजाका अन्य स्थानहरूमा समेत आक्रमण हुँदा दर्जनौंको ज्यान गएको छ:
गाजा सिटीको टुफ्फाह क्षेत्रमा बम आक्रमणमा १४ को मृत्यु
जबालिया मा दुई आवासीय भवनमा आक्रमण, १५ को मृत्यु
शाती शरणार्थी शिविर मा ७ को मृत्यु
उत्तरी गाजाको बेइट हानुन मा ५० भन्दा बढी बम खसालिएका
इजरायली सेनाले पछिल्लो ४८ घण्टामा गाजामा २५० पटक आक्रमण गरेको पुष्टि गरेको छ। साथै, खाद्यान्न र औषधिको प्रवेशसमेत अवरुद्ध गरिएको छ।
गाजाको सरकारी सञ्चार कार्यालयका अनुसार हालसम्म कुपोषणका कारण ६७ बालबालिकाको मृत्यु भइसकेको छ। ५ वर्षमुनिका ६ लाख ५० हजार बालबालिका भोकमरीको जोखिममा छन्।
कतारमा चलिरहेको युद्धविराम वार्ता इजरायल र हमासबीचको विवादका कारण अवरुद्ध भएको छ। हमासले इजरायलले प्रस्ताव गरेको नक्सा अस्वीकार गरेको छ, जसले करिब ४० प्रतिशत गाजा क्षेत्र इजरायली नियन्त्रणमा राख्ने योजना देखाउँछ।
इजरायली स्रोतअनुसार, हमासले इजरायललाई अघिल्लो युद्धविरामका सीमामा फर्कन माग गरेको छ। तर, इजरायली योजना अनुसार हजारौं विस्थापितलाई राफाह नजिकको साँघुरो क्षेत्रमा राख्ने तयारी भइरहेको छ।
मध्यपूर्व मामिलाका विश्लेषक ओमार रहमानका अनुसार इजरायलको लक्ष्य केवल युद्धबन्दी फिर्ता गराउनु होइन, गाजाको सामाजिक संरचना भत्काउँदै जनसंख्या विस्थापन गर्नु हो।
उनका अनुसार जीएचएफ जस्ता संस्थाहरूले परम्परागत राहत प्रणाली विस्थापित गर्दै गाजाका बाँकी जनतालाई सानो क्षेत्रमा सीमित गर्न खोजेका छन्।