विराटनगर । मोरङ र सुनसरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जना पैदलयात्रीको मृत्यु भएको छ । दुवै जनालाई बाटो काट्ने क्रममा सवारीसाधनले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
मोरङको उर्लाबारी नगरपालिका–७ बाघखोरस्थित भित्री सडक खण्डमा सोमबार बिहान कारको ठक्करबाट ७८ वर्षीय कृष्णबहादुर कार्कीको मृत्यु भएको छ । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १–०१–००२ च २३६७ नम्बरको कारले बिहान ७ः४० बजेतिर बाटो काटिरहेका कार्की र ८२ वर्षीया रामकुमारी राईलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परेर टाउको र ढाडमा चोट लागेका कार्कीलाई उपचारका लागि मोरङको बूढीगंगास्थित विराट टिचिङ अस्पताल पुर्याइएको थियो । अस्पतालमा चिकित्सकले बिहान ८ः५५ बजेतिर उनलाई मृत घोषणा गरेका थिए । दुर्घटनामा राईको बायाँ हात र दुवै खुट्टामा चोट लागेको छ ।
उनको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । कार र चालक उर्लाबारी–७ का ४१ वर्षीय योगराज कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै, सुनसरीको कोशी गाउँपालिका–२ स्थित काली मन्दिर नजिक मोटरसाइकलको ठक्करबाट ४५ वर्षीया कौसिला यादवको मृत्यु भएको छ । सोमबार दिउँसो करिब १ः५५ बजेतिर उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को २७ प २८५५ नम्बरको मोटरसाइकलले बाटो काटिरहेकी स्थानीय श्रीमती कौसिला यादवलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परेर बायाँ खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेकी कौसिलालाई उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल इनरुवा लगिएको छ ।
दुर्घटनापछि प्रहरीले मोटरसाइकल र चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–७ का करिब २१ वर्षीय सुमन सदालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लौकहीमा राखेको छ । प्रहरीका अनुसार दुवै दुर्घटना पैदलयात्रीले बाटो काट्ने क्रममा भएका हुन् ।