
विराटनगर। ‘भिजिट भिसा’ दुरुपयोग प्रकरण सार्वजनिक भएपछि नेपालबाट भारत हुँदै तेस्रो मुलुक जान चाहने नेपालीको संख्या तीव्र रूपमा बढेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई गत जेठ ७ गते नियन्त्रणमा लिएर भिजिट भिसा दुरुपयोग अनुसन्धान अघि बढाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआईए)मार्फत सिधै खाडी मुलुक जानेहरू भारत हुँदै गन्तव्य पुग्न थालेका छन्।
यसअघि सेटिङको भरमा टिआईएबाट युनाइटेड अरब इमिरेट्स, साउदी अरेबिया, कुवेतजस्ता देश जान सहज भएकोमा अख्तियारको निगरानीपछि यात्रा मार्ग परिवर्तित हुन थालेको अध्यागमन विभाग स्रोतको भनाइ छ।
दैनिक सयौं नेपाली भारत हुँदै गन्तव्यतर्फ
विभागको तथ्याङ्कअनुसार,
मे महिनामा टिआईएबाट ७,९१३ नेपाली भारत गएका थिए (दैनिक औसत: २५५)।
जुनमा यो संख्या १०,६७१ पुगेको छ (दैनिक औसत: ३५५)।
जुलाई १–१६ सम्म मात्रै ६,४५९ नेपाली भारत गएका छन् (दैनिक औसत: ४०३)।
यो गति कायम रहेमा जुलाई महिनाको अन्त्यसम्म भारत जाने नेपालीको संख्या १२ हजार नाघ्ने देखिन्छ।
सन् २०२५ को सुरुवातदेखि जुलाई १६ सम्मको साढे ६ महिनामा ६५,७३५ नेपाली टिआईएबाट भारत गएका छन्।
यो संख्या सन् २०२४ भरि भारत गएका कुल ६४,६७८ जनाभन्दा बढी हो।
किन भारत?
स्रोतका अनुसार, भारतमा अध्यागमन कडाइ नभएको, सोधपुछ नगर्ने प्रवृत्ति र सजिलो यात्राका कारण अब सिधै खाडी वा युरोप नजाने र पहिला भारत पुग्ने र त्यसपछि गन्तव्यतर्फ उड्ने प्रवृत्ति बढेको हो।
“सोधपुछ कम हुने भएकाले नयाँ रणनीति अपनाइएको देखिन्छ,” अध्यागमन विभाग स्रोतले भन्यो।
अख्तियारले अवैध रूपमा भिजिट भिसा प्रयोग गरी विदेश पठाउने गिरोहमाथि अनुसन्धान थालेपछि त्रिभुवन विमानस्थलमा कडाइ थालिएको थियो।
यसै क्रममा गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई मे २१ मा नियन्त्रणमा लिइएको थियो।
भोलिपल्टै भट्टराईलाई छोडिए पनि अख्तियारले अध्यागमन कार्यालयमा छापा मारेर ३ कर्मचारीलाई नियन्त्रणमा लिएको थियो।
यस घटनाले गृहमन्त्री रमेश लेखकसमेत आलोचित बनेका छन्।
रास्वपा र राप्रपाले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रतिनिधिसभा अवरुद्ध गरिरहेका छन्।
सरकारले माओवादीसँग सहमति अनुसार पूर्व मुख्यसचिव शंकरदास वैरागीको अध्यक्षतामा छानबिन समिति गठन गरे पनि विपक्षी दलहरू सन्तुष्ट छैनन्।
अख्तियारको प्रारम्भिक अनुसन्धानले देखाएको छ कि मानव तस्करहरूले भिजिट भिसामा विदेश जान चाहनेसँग ठूलो रकम असुलेर उक्त रकम अध्यागमनका कर्मचारीमार्फत सुरक्षित पार्थे।
यसै कारण भिजिट भिसा प्रकरणमा अध्यागमन र गृह मन्त्रालयका उच्च अधिकारी समेत संलग्न भएको आशंका गरिँदै आएको छ।