
विराटनगर। नेपाली सिने क्षेत्रका सुपरस्टार अभिनेता राजेश हमालबारे लेखिएको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक हुने भएको छ। हमालको जीवन, सिने यात्रा तथा समाजप्रतिको दृष्टिकोण समेटिएको पुस्तक भदौ दोस्रो साता भित्र सार्वजनिक गरिने फाइनप्रिन्ट प्रकाशनले जनाएको छ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच अभिनेता हमाल र फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले पुस्तकको आवरण अनावरण गरे। पुस्तक लेखक तथा पत्रकार यज्ञशसँगको सहकार्यमा तयार पारिएको हो।
पुस्तकको नाम हमालको पहिलो चलचित्र ‘युगदेखि युगसम्म’ सँग मिल्ने गरी राखिएको छ। हमालको ३५ वर्ष लामो फिल्म यात्रा, अहिलेसम्म सार्वजनिक नभएका व्यक्तिगत जीवनका आयामहरू, परिवार, समाज र अन्य विविध विषय पुस्तकमा समेटिएका छन्।
फाइनप्रिन्टका सीईओ भारीले हमालबारे तयार हुन लागेको पुस्तक नेपाली साहित्य र चलचित्र प्रेमीहरूका लागि बहुप्रतीक्षित र महत्वाकाङ्क्षी कृति हुने विश्वास व्यक्त गरे।
राजेश हमालले ‘युगदेखि युगसम्म’, ‘कसम’, ‘बसन्ती’, ‘जीवनदाता’, ‘देउता’, ‘गोरेटो’, ‘ढुकढुकी’, ‘अर्जुन’, ‘अल्लारे’, ‘आफन्त’, ‘धर्मा’, ‘खान्दान’ लगायत करिब २०० भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन्। नेपाली चलचित्र क्षेत्रमा व्यवसायिकता भित्र्याउन उनले खेलेको भूमिकालाई विशिष्ट मानिन्छ।