
विराटनगर । भारतसित साँध जोडिएका तराईदेखि पहाडसम्मका सबैजसो जिल्लाका प्रहरी अधिकारीहरुका लागि टाउको दुःखाइको कारण बनिरहेको लागुऔषधको ओसारपसार र बेचबिखन आकाशिंदै गएको छ । प्रहरी स्वयमकै तथ्यांकले पनि देखाउँछ कोशी प्रदेश लागुऔषध कारोबारको अखडा नै बनिरहेको छ ।

कोशीका विभिन्न जिल्लाबाट आर्थिक वर्ष २०८१–८२ मा मात्रै चरेस, अफिम, खैरो हेरोइन र विभिन्न लागुऔषधसहित बेचबिखन तथा ओसारपसारमा संलग्न १ हजार ९८५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वर्ष दिनमा झण्डै दुई हजार जना पक्राउ गर्ने प्रहरीको कदमले यहाँ बढेको लागुऔषधको कारोबारको झलक दिन्छ । प्रहरीको नजर नपरेका घटना कति होलान् यसको हिसाब कसैसँग छैन ।
‘लागुऔषधका कारण समाजमा हत्या, लुटपाट, चोरीजस्ता आपराधिक क्रियाकलाप बढ्ने खतरा हुन्छ, केही घटनाहरु लागुऔषधकै कारण भएका उदाहरण पनि पाइएका छन्’, कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक पोखरेलले भने ‘त्यसैले यसको नियन्त्रणका लागि प्रहरीले आक्रामक रणनीति अपनाएको छ ।’
पोखरेलको भनाइले पनि कोशीमा लागुऔषधविरुद्ध प्रहरी ‘आक्रामक बन्ने’ बाध्यता दर्शाउँछ ।
बितेको आर्थिक वर्षमा कोशीका १४ जिल्लामध्ये झापाबाट मात्रै १.५६ ग्राम चरेस, २.८८ केजी खैरो हेरोइन, विभिन्न खालका ६३ हजार ५६० चक्की र ३९ एम्पुल प्रहरीले बरामद गरेको तथ्यांक छ ।
मोरङमा १.७७ केजी खैरो हेरोइन, लागुऔषधका ८० हजार ९२३ चक्की र क्याप्सुल, र एक हजार ४८५ एम्पुल प्रहरीले नियन्त्रणमा लिंदा सुनसरीबाट २ ग्राम चरेस, ७२८ ग्राम खैरो हेरोइन, ४ लाख २८ हजार ६८३ चक्की र ३१८ एम्पुल बरामद भएको छ ।
बितेको आर्थिक वर्षमा प्रदेशभरबाट प्रहरीले कूल ५.४८ किलो खैरो हेरोइन, १५.७ ग्राम अफिम, ३.५ ग्राम चरेससहित ६ लाख १५ हजार ७९ वटा चक्की र २ हजार ६५४ वटा एम्पुल बरामद गरेको छ ।
प्रहरीका अनुसार, केही कारोबारीले लागुऔषधलाई शरीरका विभिन्न भाग तथा मलद्वारमा समेत लुकाएर ओसारपसार गर्ने गरेका छन् । यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन प्रहरी गोली प्रहार गर्नसमेत बाध्य भएको प्रहरी भनाइ छ ।
कोशीमा लागुऔषधको सञ्जाल किन र कसरी फैलिंदो छ ? यसबारे सम्बद्धहरुको विचार र मत फरक छन् ।
प्रहरी र प्रशासनका अधिकारीहरु भारतसँगको खुला र अनियन्त्रित सीमाले लागुऔषधको कारोबार उल्लेख्य बढाएको बताउँछन् ।
यद्यपि लागु औषध ओसारपसारको अभियोगमा वर्षभरीमा झण्डै दुई हजार जना पक्रेको प्रहरीले ओसार्न खटिने भरियामात्रै समात्ने, मुख्य धन्दावालाहरु प्रहरी पहुँचबाट सधै जोगिने समस्याले लागुऔषध तस्करीको जालो तोड्न प्रहरी विफल देखिएको छ ।
जसका कारण कोशीका मोरङ, झापा, सुनसरीलाई ट्रान्जिट बनाएर हुँदै आएको लागुऔषध कारोबार थप फराकिलो बन्दै गएको छ ।
भारतीय बजारबाट लागुऔषध नेपाल भित्र्याउन विभिन्न नाका कारोबारीले प्रयोग गर्दै आइरहेका छन् । प्रहरीसँग भएको तथ्यांकले नै देखाउँछ, तराईका जिल्लामा लागुऔषध कारोबारीहरुको सक्रियता झन्–झन् बढ्ने क्रममा छ । लागुऔषधको कारोबार र ओसारपसार नियन्त्रण गर्न छुट्टै विभाग नै परिचालन गरे पनि प्रहरी यसमा उल्लेख्य सफलता हात पार्न असफल छ । प्रहरी अधिकांश घटनामा प्रयोगकर्ता वा भरियासम्म मात्रै पुगेको देखिन्छ ।
जबकि, उनीहरुलाई ज्याला दिएर प्रतिबन्धित लागुऔषध नेपाल भित्र्याउन लगाउनेहरु चाहिं अरु नै हुन्छन् ।
‘उनीहरुको सञ्जाल ठूलो र बलियो हुँदोरहेछ’, प्रदेश प्रहरीका एक अधिकारी भन्छन् ‘ ‘गोपनीयताको हकमा पनि उनीहरुको बलियो भरोसा हुँदोरहेछ । त्यसैले जरासम्म पुग्न प्रहरीलाई समस्या छ ।’
कोशीमा लागुऔषधका कारोबारीहरुले व्यवस्थित सञ्जाल नै स्थापना गरेर निष्फिक्री कारोबार चलाइरहेका छन् ।
प्रहरीले पक्राउ गरेका कारोबारीहरुको बयान तथा अनुसन्धानहरुबाटै पनि यो तथ्य खुल्छ । एक जना पक्राउ परे त्यही काम अर्कोलाई लगाउने, ओसारपसार गरिदिएवापत निश्चित रकम दिने सुविधामा काम लगाउने गरेको पाइएको छ ।
लागुऔषध नियन्त्रणमा खटिएको प्रहरी टोलीका अनुसार कारोबारीहरुले गृहिणीहरुलाई समेत लागुऔषध बोकाएको भेटिएको छ ।
‘सागसब्जी र खाद्यान्न खरीद गर्न भारतीय बजार पुग्ने गृहिणीलाई पनि लागुऔषध बोकाएको पाइएको छ’, झापाको घटना सुनाउँदै लागुऔषध ब्यूरोका एक प्रहरीले भने ‘यसरी उनीहरुले नयाँ–नयाँ उपाय लगाएर कारोबार चलाएका छन् । जसले गर्दा जालो तोड्न गाह्रो भएको छ ।’
भारतसितको लामो र खुला साँध, सबैतिर सुरक्षादृष्टि पुर्याउन नसक्ने सुरक्षा निकायको कमजोरी तथा सीमावर्ती भारतीय बजारहरुमा हुने खुलमखुला बेचबिखनलगायतका कारणले कोशी, मधेश लगायतका प्रदेशहरु लागुऔषध कारोबारीको अखडा बन्दै आएका छन् ।
कोशी र मधेशमा यो समस्या विकराल बनेको प्रहरी प्रधान कार्यालयको तथ्यांकले देखाउँछ ।
लागुऔषधकै क्षेत्रमा लामो समयदेखि काम गरिरहेका गैरसरकारी अभियन्ताहरु पनि कोशी हुँदै अन्यत्र ओसरपसार हुने लागुऔषध र कारोबारी संख्या धेरै भएको बताउँछन् ।
‘कोशीमा प्रयोगकर्ताहरु पहिलेभन्दा धेरै घटेका छन्’, अभियन्ता तिलक थापाले भने ‘ धेरै कारोबारी छन् । यसको अर्थ हाम्रो प्रदेश ट्रान्जिटका रुपमा बढी प्रयोग भइरहेको छ ।’
उनका अनुसार ज्यादै ठूलो र व्यवस्थित सञ्जालमार्फत भइरहेको यस्तो कारोबार प्रहरीले दुई–चार जना प्रयोगकर्ता समात्दैमा भत्काउन कठिन छ । यतिमात्रै होइन, कोशी प्रदेशका धनुकटा लगायतका जिल्लामा उत्पादन हुने गाँजा भारतीय बजारमा पठाउने धन्दा पनि उल्लेख्य बढेको छ ।