पूर्वी पहाडमा छायांकन गरिएको ‘मैझारो’ अन्तिम चरणमा

विराटनगर । साउनको पहिलो हप्ताबाट इलाममा छायांकन थालिएको नेपाली फिल्म मैझारो अहिले अन्तिम चरणमा पुगेको छ। निर्देशक विल्सन विक्रम राईको निर्देशनमा निर्माण भइरहेको यस फिल्मले पूर्वी पहाडका प्राकृतिक सौन्दर्य र मानवीय सम्बन्धको आत्मीयतालाई पर्दामा उतार्ने लक्ष्य लिएको छ।

फिल्मको छायांकन इलामका देउमाई नगरपालिका, पानीटार, जितपुर, साखेजुङ हुँदै पाँचथरका रमणीय स्थलहरूमा गरिएको छ। कथा र पटकथा पनि निर्देशक राई स्वयंले लेखेका हुन्। उनका अनुसार दर्शकले यसबाट फरक स्वाद र अनुभूति पाउनेछन्।

मौलिक प्रेम कथामा आधारित फिल्ममा धिरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभय राज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायत कलाकारको अभिनय छ।

‘तक्मे प्रोडक्सन’को ब्यानरमा निर्माण भएको फिल्ममा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहेको छ। गायनमा राजेश पायल राई, झुमा लिम्बू, मेलिना राई र अस्मिता अधिकारीको स्वर सुन्न पाइनेछ। सौरभ लामाले छायांकन गरेका मैझारोको वितरण आरआर फिल्मले गर्दैछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ।