
विराटनगर। संयुक्त राज्य अमेरिकाले इरानका तीन प्रमुख आणविक परियोजनामाथि हवाई आक्रमण गरेको छ। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत यो जानकारी दिएका हुन्।

ट्रम्पका अनुसार अमेरिकाले इरानको फर्दो, नतान्ज र इस्फाहानस्थित आणविक भट्टीहरूमा बम खसालेको छ। तीमध्ये फर्दोको भट्टी पहाडभन्दा सयौं फिट गहिराइमा बंकरभित्र बनाइएको हो।
अमेरिकी बमवर्षक विमानहरूद्वारा गरिएको यो आक्रमण सफल भएको दाबी गर्दै ट्रम्पले लेखेका छन्, “सबै विमानहरू सुरक्षित घर फर्किसकेका छन्। हाम्रा बहादुर अमेरिकी सैनिकहरूलाई बधाई छ।”
इसराइलले केही समयअघि इरानको आणविक भट्टीहरू ध्वस्त पार्ने प्रयास गरेको थियो। तर, जमिनमुनि गहिरो संरचनामा रहेको फर्दोको भट्टीमा नोक्सान पुर्याउन नसकेपछि इसराइलले अमेरिकासँग सहयोग मागेको थियो।
ट्रम्पले यसअघि नै इरानलाई आणविक कार्यक्रम बन्द गर्न दुई साता समय दिएका थिए। तर, सो समय समाप्त हुनु अघि नै अमेरिका आक्रमणमा उत्रिएको हो।
इरानले अमेरिकाले इसराइलसँग मिलेर आक्रमण गरे आफ्ना मध्यपूर्वस्थित अमेरिकी सैन्य ठाँउहरूमा जबाफ दिने चेतावनी दिएको थियो।
विशेषज्ञहरूका अनुसार यस्तो गहिराइमा रहेका बंकर ध्वस्त पार्नका लागि अमेरिकी जिबियू–५७ (GBU-57) बंकरभेदी बम प्रयोग गरिएको हुनसक्ने अनुमान छ।
वजन करिब १३.६ टन रहेको यो बम भूमिगत बलियो कंक्रिट छेड्न सक्ने क्षमताको मानिन्छ। यसरी धेरै वटा बम एकै ठाउँमा खसालेर मात्र यस्तो संरचना नष्ट गर्न सकिन्छ।
तर हालसम्म यस्तो बम कुनै युद्धमा प्रयोग भएको आधिकारिक पुष्टि छैन।
इरानको फर्दो भट्टी ३०० फिटभन्दा गहिराइमा रहेको छ र विश्वकै बलियो बंकरहरूमध्ये एक मानिन्छ। अमेरिकाले प्रयोग गरेको जिबियू–५७ बम पनि यसलाई भत्काउन सक्षम छ वा छैन भन्नेमा स्पष्टता छैन।
यसका अतिरिक्त इरानले GPS ‘ज्यामर’ प्रविधि राखेकाले बमको निशानामा असर पर्न सक्ने पनि अनुमान गरिएको छ। त्यसैले इसराइलले नजिकका सबै जामर नष्ट गरेपछि मात्र अमेरिका आक्रमणमा उत्रिएको हुनसक्छ।
केही सुरक्षा विशेषज्ञहरूले पहिलो चरणमा जिबियू–५७ बम र दोस्रो चरणमा ‘ट्याक्टिकल’ आणविक हतियार प्रयोग गर्न सकिने सुझाव दिएका थिए। तर राष्ट्रपति ट्रम्पले आणविक हतियार नप्रयोग गर्ने अडान लिएको जनाइएको छ।
विशेषज्ञहरूका अनुसार यस्तो निर्णय विश्वव्यापी आणविक तनाव बढ्ने खतरा कम गर्न गरिएको हो।
यद्यपि आक्रमणपछि पनि अमेरिकी अधिकारीहरू वार्ताको विकल्प खुल्ला रहेको बताइरहेका छन्। इरानले आणविक परियोजना रोक्ने निर्णय गरे वार्ता सम्भावना रहन सक्ने जनाइएको छ।
हाल इसराइल–इरान द्वन्द्व उत्कर्षमा पुगेको छ। अब अमेरिकी सैन्य संलग्नतापछि स्थिति अझ तनावग्रस्त बन्ने संकेत देखिएको छ।
यस घटनापछि इरान वा अन्य मुलुकको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ।