कोशीमा सिरुवा पर्वको उत्साह, प्रदेशभर बुधबार सार्वजनिक बिदा

 

 

 

 

विराटनगर । कोशी प्रदेशका तराई जिल्लाहरू यतिबेला पानी, हिलो र रङको उत्साहले भरिएका छन् । नयाँ वर्षसँगै सुरु हुने सिरुवा पर्वले झापा, मोरङ र सुनसरीका गाउँ–बस्तीहरूमा सांस्कृतिक जीवन्तता थपेको छ ।

राजवंशी, थारु, ताजपुरिया, धिमाल, मेचे, गनगाई, माझी लगायतका आदिवासी समुदायहरू परम्परागत विधि, पूजापाठ र आपसी सद्भावसहित यो पर्व मनाइरहेका छन् । प्रदेश सरकारले पर्वको महत्वलाई स्वीकार गर्दै वैशाख २ गते बुधबार सार्वजनिक बिदा घोषणा गरेपछि यसको रौनक अझ बढेको छ ।

जुरशीतल पनि भनिने सिरुवा पर्व नयाँ वर्षको पहिलो दिनदेखि सुरु हुने तीनदिने सांस्कृतिक उत्सव हो । यो पर्व रमाइलो र खेलकुदमा मात्रै सीमित छैन । यसले प्रकृति, शरीर र समाजबीच सन्तुलन कायम गर्ने गहिरो सांस्कृतिक सन्देश बोकेको छ ।

पानी छ्याप्ने परम्पराले अघिल्लो वर्षका दुःख कष्ट पखालेर नयाँ वर्षलाई शीतल र सुखद् बनाउने विश्वास गरिन्छ । पर्वको पहिलो दिन अर्थात् वैशाख १ गते ‘पानी सिरुवा’का रूपमा मनाइन्छ । यस दिन बिहानैदेखि गाउँबस्तीमा एकआपसमा पानी छ्याप्ने, हाँसो–ठट्टा गर्ने र शुभकामना आदानप्रदान गर्ने चलन छ ।

झापाको गौरिगञ्ज, दमकलगायत विभिन्न स्थान, मोरङका ग्रामीण क्षेत्र तथा सुनसरीका विभिन्न बस्तीहरूमा युवादेखि वृद्धसम्म पानी सिरुवामा सहभागी भएका दृश्यहरू रमाइला देखिन्थे । पानी छ्याप्दा कुनै वैमनस्य नराखी सबैलाई समान व्यवहार गर्ने सन्देश पनि यसमा निहित हुन्छ ।

दोस्रो दिन ‘काद सिरुवा’ अर्थात् हिलो खेल्ने दिन हो । सिरुवाको दोस्रो दिन बुधबार हिलो खेलेर यो पर्व मनाइँदैछ । खेतबारी वा खुला स्थानमा जम्मा भएर माटोको हिलो तयार पारिन्छ र एकअर्कालाई हिलो छ्यापिन्छ । यसलाई शरीरलाई शुद्ध गर्ने र पृथ्वीसँग नजिक हुने प्रतीकका रूपमा लिइन्छ । परम्परागत रूपमा हिलोले छाला स्वस्थ बनाउने र रोग प्रतिरोधात्मक क्षमता बढाउने जनविश्वास छ ।

तेस्रो दिन अर्थात् बिहीबार ‘रङ सिरुवा’ मनाइन्छ । जसमा विभिन्न रङहरू प्रयोग गरेर उत्सवलाई रंगीन बनाइन्छ । यो दिनलाई पर्वको समापनसँगै नयाँ वर्षको स्वागत गरेर उल्लासपूर्व हिसाबले मनाइन्छ । गाउँबस्तीमा सामूहिक नाचगान, बाजागाजा र परिकारको विशेष तयारीले वातावरण अझ उत्साहित बनाउँछ ।

सिरुवा पर्व खेलकुद र रमाइलोका लागि मात्रै भन्दा पनि धार्मिक र सांस्कृतिक अभ्यासहरूको पनि महत्वपूर्ण छ । घरघरमा कुलदेवता र ग्रामदेवताहरूको पूजा गरिन्छ । बिहानै घरका अग्रजहरूले परिवारका सदस्यहरूको टाउकोमा पानी राखेर ‘मगज चिसो रहोस्, वर्षभरि शान्ति रहोस्’ भन्दै आशीर्वाद दिने परम्परा अहिले पनि जीवित छ । महिलाहरूले घाटोसरी पूजा गर्ने चलन पनि उत्तिकै महत्वपूर्ण मानिन्छ ।

यस पर्वको अर्को विशेषता चुलो पूजा हो । वर्षमा एक दिन चुलोलाई विश्राम दिने मान्यताअनुसार त्यो दिन बेलुकाको खाना पकाइँदैन । दिनमै पकाइएको भोजन राति खाने चलनले श्रमको सम्मान र प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने सन्देश दिन्छ ।

सिरुवा पर्वसँगै पूर्वी तराईका विभिन्न स्थानमा मेला र महोत्सवहरू पनि लाग्ने गरेका छन् । झापाको कमल गाउँपालिका, मंगलबारे, मोरङको सुनवर्षी लगायतका क्षेत्रमा नयाँ वर्षको पहिलो दिनदेखि नै मेलाको चहलपहल बढेको छ । ती मेलाहरूमा स्थानीय परिकार, हस्तकला, सांस्कृतिक प्रस्तुति र लोकनृत्यहरूले आगन्तुकहरूलाई आकर्षित गर्ने गरेका छन् ।

यो पर्व नेपालभित्र मात्र सीमित छैन । भारतका आसाम, मेघालय, पश्चिम बंगाल र कोचबिहार क्षेत्रमा पनि समान सांस्कृतिक पृष्ठभूमि भएका समुदायहरूले सिरुवा मनाउने गर्छन् । यसले सीमापारिको सांस्कृतिक सम्बन्धलाई समेत मजबुत बनाउने काम गरेको छ ।

स्थानीय अगुवाहरूका अनुसार सिरुवा पर्वको मूल उद्देश्य समुदायबीचको सम्बन्ध सुदृढ गर्नु हो । आपसी सद्भाव, बन्धुत्व र सहकार्यलाई प्राथमिकता दिने यो पर्वले समाजलाई एकताबद्ध बनाउने महत्वपूर्ण भूमिका खेल्दै आएको छ । विशेषगरी पछिल्लो समय आधुनिक जीवनशैलीका कारण कमजोर बन्दै गएको सामुदायिक सम्बन्धलाई पुनर्जीवित गर्ने अवसरका रूपमा पनि यसलाई हेरिएको छ ।

कोशी प्रदेश सरकारले सार्वजनिक बिदा दिएपछि सरकारी कार्यालय, शैक्षिक संस्था तथा विभिन्न निकायहरू बन्द रहे पनि गाउँबस्तीहरू भने उत्सवमा रमाएका छन् । स्थानीय तहहरूले समेत सांस्कृतिक कार्यक्रम आयोजना गरेर पर्वलाई संस्थागत रूपमा प्रवर्धन गर्ने प्रयास गरेका छन् ।

सिरुवा पर्वले नयाँ वर्षको सुरुवातसँगै जीवनमा शीतलता, शान्ति र समृद्धिको सन्देश दिन्छ । पानी, माटो र रङजस्ता प्राकृतिक तत्वमार्फत मानिसलाई प्रकृतिसँग जोड्ने यो परम्परा मनोरञ्जन मात्रै नभइ सांस्कृतिक पहिचानको महत्वपूर्ण आधार बनेको छ । कोशी प्रदेशमा अहिले देखिएको उत्साहले पर्वको जीवन्तता अझै दीर्घकालसम्म कायम रहने अगुवाहरु बताउँछन् ।