ट्रयाक्टरको चक्कामा परेर सहचालकको मृत्यु

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–१२ नागीनस्थित मिलन चोकमा ट्रयाक्टर दुर्घटना हुँदा १८ वर्षीय सहचालकको मृत्यु भएको छ ।

फेमे खोलाबाट बालुवा लिएर भोटेगाउँतर्फ जाँदै गरेको मे १ त ५९३२ नम्बरको ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा हिलिहाङ गाउँपालिका–१ अमरपुरका पवन मोतेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । प्रहरीका अनुसार सोमबार गुडिरहेको ट्रयाक्टर अनियन्त्रित भएपछि मोते सिटबाट झरेका थिए । त्यसक्रममा उनी ट्रयाक्टरको इन्जिनको बायाँपट्टिको ठूलो चक्कामा परेका थिए । चक्काले किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि पाँचथर अस्पताल पठाइएको छ । दुर्घटनामा संलग्न ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको छ ।