काठमाडौं । देशभर मनसुनी गतिविधि सक्रिय रहेकाले आज (मंगलबार) विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने देखिएको छ ।
महाशाखाका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ । यसको प्रभावले कोशी प्रदेशसहित देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बादल लागेको छ भने तराईका भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।हाल कोशी, बागमती र लुम्बिनीका केही स्थान तथा गण्डकी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्यतया बदली रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । देशका पहाडी भू–भागका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
तराई क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र लुम्बिनीका तराई भू–भागका केही स्थान तथा कोशी, मधेश र सुदूरपश्चिमका तराई क्षेत्रका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । रातको समयमा पनि मौसममा उल्लेख्य सुधार आउने देखिएको छैन ।
देशभर सामान्यतया बदली रहने तथा कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रका भने थोरै स्थानमा यस्तो वर्षा हुन सक्नेछ ।
राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भू–भागका केही स्थान तथा मधेश र सुदूरपश्चिमका तराई क्षेत्रमा थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।
भारी वर्षा हुन सक्ने स्थानमा पहिरो, बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।