सुनसरी र झापामा दुर्घटना, दुई जनाको मृत्यु

विराटनगर । सुनसरी र झापामा भएका अलगअलग दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । सुनसरीको इटहरीमा शुक्रबार बिहान र झापाको झापा गाउँपालिकामा बिहीबार दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–४ आर्मी क्याम्पनजिक पानी परिरहेका बेला सडकमा चिप्लिएर आज (शुक्रबार) बिहान ४ः३० बजेतिर मोटरसाइकल दुर्घटनामा परेको थियो । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १९ प ३१५० नम्बरको मोटरसाइकल पानी परिरहेका कारण चिप्लिएर अनियन्त्रित भई सडकको डिभाइडरमा ठाक्कर खाँदा चालकको मृत्यु भएको हो ।

कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी दीपक गिरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक धनकुटाको धनकुटा नगरपालिका–२ भिरगाउँका २९ वर्षीय अनिल राईको मृत्यु भएको हो । गम्भीर घाइते भएका राईलाई सुरुमा उपचारका लागि सामुदायिक अस्पताल इटहरीमा भर्ना गरिएको थियो ।

त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल रेफर गरियो । विराट पुर्याउनसाथ चिकित्सकले राईलाई बिहान ५ः२० बजेतिर मृत घोषणा गरिदिएको एसपी गरीले बताए ।

उक्त दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार भिरगाउँकै २६ वर्षीय सन्दीप राई घाइते भएका छन् । सामान्य अवस्थाका उनको विराटमै उपचार भइरहेको प्रहरीले जनाएको छ । पानी परिरहेकाले सडक चिप्लो हुँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

त्यस्तै, झापाको झापा गाउँपालिका–३ कामाटोलीमा भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृतक पनि भारतीय नै हुन् । प्रहरीका अनुसार सुरुंगाबाट कामाटोलीतर्फ जाँदै गरेको बीआर ३७ क्यू ३९४९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर बिहीबार बिहान १०ः३० बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा भारत किसनगन्जस्थित फुटानी बजारका २८ वर्षीय सुल्तान अलीको मृत्यु भएको हो । गम्भीर अवस्थाका अलीलाई उपचारका लागि बिर्तामोडको बी एन्ड सी अस्तपाल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरिदिएका हुन् ।

मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।