
विराटनगर । वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संघर्ष, सपना र जोखिमपूर्ण यात्रालाई केन्द्रमा राखेर निर्माण गरिएको बहुप्रतीक्षित नेपाली सिनेमा ‘रियाल रिङ्गेट’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। साउन १६ गते देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको यस फिल्मको ट्रेलर श्रावण सङ्क्रान्तिको विशेष अवसर पारेर सार्वजनिक गरिएको हो।

ट्रेलरमा विदेशमा श्रम बेच्न गएका नेपालीहरूको वास्तविक जीवन झल्किने दृश्यहरू देख्न सकिन्छ। आतङ्ककारी समूहतर्फबाट कब्जामा परेका नेपाली कामदारहरूको चित्रण, टेलिभिजनमा प्रशारण भइरहेको बन्धकको भिडियो सन्देश, अनि परिवारको आँशु र पीडाले दर्शकलाई भावुक बनाउँछ। यसले धेरै नेपालीको परिवारिक यथार्थ र पीडा बोल्छ।
सिनेमाका निर्देशक विभोर पोखरेलले ट्रेलर सार्वजनिकपछि भने, “यो कुनै काल्पनिक कथा होइन, हाम्रा आफ्नै दाजुभाइ–दिदीबहिनीहरूको कथा हो। ‘रियाल रिङ्गेट’ ले वैदेशिक रोजगारीको पछाडिको यथार्थ झल्काउनेछ।”
फिल्मको शीर्षक ‘रियाल रिङ्गेट’ स्वयं प्रतीकात्मक अर्थ बोकेको छ। ‘रियाल’ खाडी मुलुकहरूको मुद्रा हो भने ‘रिङ्गेट’ मलेसियाको। यी दुई मुद्रा नेपाली श्रमिकहरू काम गर्न जाने प्रमुख मुलुकहरूसँग जोडिएका छन्, जहाँ लाखौँ नेपालीले पसिना बगाइरहेका छन्।
सिनेमामा प्रमोद चौलागाईं र निता ढुङ्गाना मुख्य भूमिकामा छन् भने अन्य कलाकारहरूमा छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल र विमला गिरी छन्।
प्रदीप भारद्वाजको लेखन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन र किरण तुलाधरको ब्याकग्राउन्ड स्कोरले फिल्मको प्राविधिक पक्ष बलियो बनाएको देखिन्छ। राजीव समरले कोरियोग्राफी गरेका छन्।
सिनेमामा समावेश गीतहरूमा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीको सङ्गीत रहेको छ भने स्वरमा सुगम पोखरेल, केतन क्षेत्री, रामचन्द्र काफ्ले र जुनू रिजाल काफ्ले छन्। गीत लेख्नेहरूमा अमर न्यौपाने, रवि मल्ल, कोसिस क्षेत्री, प्रदीप भारद्वाज र चन्दन ध्वज केसी रहेका छन्।
फिल्मको छायाङ्कन नेपालका काठमाडौं, चितवन र लेटाङका साथै भारतको राजस्थानमा गरिएको हो। फिल्म काफिया फिल्म्सले वितरण गर्दैछ।
भिडियो हेर्नुहोस;-