
विराटनगर । सुनसरीमा लम्पी स्किन सङ्क्रमण पछिल्लो नौ महिनायता १२ वटै स्थानीय तहमा फैलिएको छ । जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र सुनसरीमा लम्पी स्किन अहिले १२ वटै तहमा पुगेको हो ।

यीमध्ये सबैभन्दा बढी दुहबी नगरपालिकामा २ सय ७६ पशुचौपायामा लम्पी स्किनको सङ्क्रमण देखिएको केन्द्रले जनाएको छ । पछिल्लो ९ महिनाको अवधिमा जिल्लामा एक हजार ५ सय १६ वटा पशुचौपायामा सङ्क्रमण देखिएको जसमा ५३ वटा चौपायाको मृत्यु भएको केन्द्रका प्रमुख मनोज मेहताले जानकारी दिए । सुनसरीको वराहक्षेत्रमा पनि सङ्क्रमणबाट १३ वटा पशु चौपायाको मृत्यु भएको उनले बताए । दुहबीपछि वराहक्षेत्रका धेरै पशु चौपायामा सङ्क्रमण देखिएको हो । त्यहाँका ३ सय ६७ चौपायामा सङ्क्रमण देखिएको जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र सुनसरीका प्रमुख मेहताले बताए ।
त्यस्तै सबैभन्दा कम सङ्क्रमण धरानमा देखिएको छ । धरानमा पछिल्लो ९ महिनायता १५ वटा पशुचौपायामा मात्रै सङ्क्रमण भेटिएको जनाइएको छ । इटहरीमा २७ वटामध्ये एउटा चौपायाको मृत्यु भएको जनाइएको छ । विशेषगरी दुहबी, वराहक्षेत्र, रामधुनी, कोशी, गढी, देवानगञ्ज, बर्जु, भोक्राहानरसिंह र हरिनगर गाउँपालिकाका कृषकहरू यो सङ्क्रमणका कारण चिन्तित बनेका छन् । पशु चौपायामा देखिने सङ्क्रमणबारे कृषकहरू जानकार नहुनु, देखिए पनि बेवास्ता गरिनुले सुनसरीमा सङ्क्रमणले ठूलो क्षति पु¥याएको केन्द्रका प्रमुख मेहता बताउँछन् ।
पछिल्लो नौ महिनायता सुनसरीमा कृषकहरूले करिब ५० लाख रुपैयाँ बढी नोक्सानी बेहोरेको केन्द्रका प्रमुख मेहताले बताए । सङ्क्रमणको जालो फैलन नदिन केन्द्रले पछिल्लो तीन वर्षयता ६४ हजार ४ सय ४१ वटा पशुचौपायालाई खोप लगाइसकेको उनले बताए ।
सङ्क्रमणबारे कृषकहरूमा जानकार नभएकै कारण ठूलो मात्रामा पशु चौपायाले अकालमै ज्यान गुमाइरहेको एक अध्ययनले देखाएको छ । पछिल्लो तीन वर्ष यता जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीले गरेको अध्ययनअनुसार सहरी भेगको तुलनामा ग्रामीणभेगमा यो सङ्क्रमण घातक देखिएको हो ।