
विराटनगर/ नेपाली सिनेमा ‘महाभोज’ यही जेठ ३० गते (शुक्रबार) देशव्यापी प्रदर्शनमा आउँदैछ। प्रदर्शनको अघिल्लो दिन, जेठ २९ गते (बिहीबार) कोशी प्रदेशको विराटनगर स्थित सेन्ट्रल मल्टीप्लेक्समा सिनेमाको भव्य प्रिभ्यु प्रिमियर सम्पन्न भएको छ।

प्रिमियर कार्यक्रममा सिनेमाका प्रमुख कलाकारहरू आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, बुद्धि तामाङ र निर्देशक दिनेश राउत, सहकारी पिडित महासंघ केन्द्रीयअध्यक्ष कुशलव केसी लगायत टिमको उपस्थिति रहेको थियो।
प्रिमियरमा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगाम, जनता समाजवादी पार्टी (जसपा) मोरङ जिल्ला अध्यक्ष एम. डी. नसरुल, सचिव विकास मण्डल, नेपाली कांग्रेस निकट युवा नेता कृष्ण कार्की, राष्ट्रिय युवा संघ मोरङ उपाध्यक्ष मजहर आलम, कुवेर फिल्म डिस्ट्रीब्युसन प्रमुख पुष्कर घिमिरे, विभिन्न सहकारी पीडितहरू, स्थानीय पत्रकारहरू, र अन्य विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरू दर्शकका रूपमा सहभागी थिए।सिनेमा हेरेपछि दर्शकहरूले यसको कथा, प्रस्तुतीकरण शैली र कलाकारहरूको अभिनयलाई खुलेर प्रशंसा गरे। धेरै दर्शकहरूले यस्तो महत्वपूर्ण सामाजिक विषयवस्तु समेटिएको सिनेमालाई दुरदराजका जनतालाई निःशुल्क देखाउने सुझाव पनि निर्माण टिमलाई दिएका थिए।
त्यस्तै, महानगरपालिका सहकारी साखाका कर्मचारीहरू समेत सिनेमा हेर्न पुगेका थिए। उनीहरूले प्रतिक्रिया दिंदै भने, “जनताको तर्फबाट भन्नुपर्दा, यो सिनेमा नेताहरूलाई थपड हानेजस्तै लाग्यो।” साथै, सिनेमाको अन्त्यमा देखाइएको बिद्रोहले कानुनी माध्यमबाट समाधान देखाएको भए कथा अझ गहिरो बन्ने धारणा पनि व्यक्त गरे।
यसअघि सिनेमा युनिटले काठमाडौं, पोखरा र बुटवलमा सफल प्रिमियर सम्पन्न गरिसकेको छ। यस्तैगरी, विराटनगर र धरानमा समेत क्रमशः विशेष प्रिभ्यु कार्यक्रमको आयोजना गरिएको हो। देशका विभिन्न सहरहरूमा निर्माण टिम कलाकारसहित प्रिमियर गर्दै प्रचारमा जुटिरहेको छ।क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुतीमा बनेको यो सिनेमा निर्माता हिमाल कडरियाको निर्माण हो। सिनेमामा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौला लगायतका कलाकारहरूको प्रभावशाली अभिनय देख्न पाइनेछ।
‘महाभोज’ले सहकारी आन्दोलन, सामाजिक विभेद, र विद्रोहको कथालाई समेट्दै जनसरोकारको मुद्दा उठान गर्ने अपेक्षा गरिएको छ। सिनेमाको यति बेला अग्रिम टिकट बुकिङ देशभर खुल्ला भइसकेको छ ।