‘कोशेढुंगा’को ट्रेलर सार्वजनिक, भदौ १२ गतेदेखि ४२ भन्दा बढी देशमा एकसाथ प्रदर्शन

विराटनगर । ब्लकबस्टर सिनेमा ‘पूर्णबहादुरको सारंगी’ निर्देशन गरेका सरोज पौडेलले ल्याएको नयाँ सिनेमा ‘कोशेढुंगा’ को ट्रेलर सार्वजनिक भएको छ। तीजको अवसर पारेर सार्वजनिक गरिएको यो सिनेमा आगामी भदौ १२ गते (अगस्ट २८) नेपालसहित विश्वका ४२ भन्दा बढी देशमा एकसाथ रिलिज हुने भएको छ।

सार्वजनिक ट्रेलरमा त्रिकोणात्मक प्रेमकथा, पारिवारिक द्वन्द्व, दाम्पत्य जीवनमा आउने उतार–चढाव, साथै गाउँले समाजको गरिबी र अभावलाई मुख्य रुपमा प्रस्तुत गरिएको छ। पात्रहरूको मनोविज्ञान, कथावस्तुको उल्झन र सम्बन्धका विविध आयामलाई प्रभावशाली ढंगले देखाउन खोजिएको छ, जसले दर्शकलाई कथासँग भावनात्मक रूपमा जोड्ने संकेत गर्दछ।

ग्रामीण परिवेशमा छायांकन गरिएको यस सिनेमामा आर्यन सिग्देल, सुरक्षा पन्त, प्रवीण खतिवडा, ऋचा शर्मा, नीति शाह, मञ्जिलकुमार र सरोज खनाललगायत कलाकारको अभिनय रहेको छ।

निर्देशक पौडेलकै लेखनमा बनेको ‘कोशेढुंगा’ लाई प्रबिल कँडेल र किशोर अनुरागले निर्माण गरेका हुन् भने दिनेश खड्का कार्यकारी निर्माता हुन्। नरेदवी फिल्म्स र सारंगी फिल्म्सको सहकार्यमा तयार भएको सिनेमा सेभेन सिज इन्टरनेसनल मार्फत अन्तर्राष्ट्रिय बजारमा समेत एकसाथ प्रदर्शनमा आउँदैछ।

भिडियो हेर्नुहोस;-