भदौ २३ गतेदेखि मुलुकमा उत्पन्न असहज परिस्थितिका कारण सिनेमा हलहरू बन्द भएसँगै ‘कोशेढुङ्गा’ को प्रदर्शन पनि स्थगित भएको थियो । सोमबारदेखि सिनेमा हलहरू सञ्चालनमा आएसँगै कोशेढुङ्गाको प्रदर्शनले निरन्तरता पाएको हो ।
सर्वकालिक सफल सिनेमा ‘पूर्णबहादुरको सारंगी’ का निर्देशक सरोज पौडेलको निर्देशनमा निर्माण भएको सिनेमा ‘कोशेढुङ्गा’ को प्रदर्शनले सोमबारदेखि निरन्तरता पाएको छ । प्रदर्शनमा आएको दोस्रो सातासम्म आइपुग्दा कोशेढुङ्गा उच्च अकुपेन्सीसहित प्रदर्शन भइरहेको थियो ।
राम्रो ‘वर्ड अफ माउथ’ पाइरहेका बेला हल बन्द भएपछि प्रदर्शन रोकिएको सिनेमाले अब पनि त्यस्तै सकारात्मक प्रतिक्रिया पाउनेमा निर्माण पक्ष विश्वस्त छ । निर्देशक पौडेलले सुरुमा जस्तै दर्शकबाट ‘कोशेढुङ्गा’ ले अब पनि सकारात्मक प्रतिक्रिया पाउनेमा आफू आशावादी रहेको बताए । ‘हाम्रो सिनेमा हेर्ने दर्शकले राम्रो भन्नुभएको छ,’ उनले भने, ‘अब पनि दर्शकको उत्तिकै साथ र सहयोग पाउनेमा हामी आशावादी छौँ ।’ भदौ १२ गतेदेखि प्रदर्शनमा आएको ‘कोशेढुङ्गा’ ले देशभरबाट बलियो ‘वर्ड अफ माउथ’ पाइरहेका बेला निर्माता, निर्देशक र कलाकार मोफसलका दर्शक भेट्न विभिन्न स्थान पुगेका थिए । देशका विभिन्न सहरका दर्शकले सिनेमा राम्रो भएको प्रतिक्रिया दिइरहेको अवस्थामा आफूहरू ठुलो संख्यामा दर्शकले सिनेमा हेर्नेमा आशावादी रहेको निर्माता किशोर अनुरागले बताए । सिनेमाको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् । कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठले छायांकन गरेको सिनेमालाई नहकुल खड्काले सम्पादन गरेका हुन् । सिनेमाका गीतमा खेम सेन्चुरी, आशिष अविरल र रिदम कँडेलले संगीत दिएका छन् ।
