मेयर कोइराला नेपाल फर्किदै

विराटनगर। कार्यक्रममा सहभागी हुन गएर युद्धका कारण इजरायलमै अड्किएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला आज बिहीबार काठमाडौं आइपुग्ने भएका छन्। काठमाडौं अवतरण गरेलगत्तै उनी आजै साँझ विराटनगर आउने तयारी छ।

इजरायल सरकारको निमन्त्रणामा सहकारी र कृषि प्रविधिको प्रयोग एवं सहरी विकासको अध्ययन तथा अवलोकनका लागि उनी गत जेठ २६ गते इजरायल गएका थिए।

त्यसपछि इजरायल र इरानबीच युद्ध चर्कँदा त्यहाँका सबै विमानस्थल बन्द गरिएका थिए। मेयर कोइरालासहित कार्यक्रममा सहभागी हुन गएका विभिन्न देशका प्रतिनिधि फर्कन पाएका थिएनन्।

उनीहरु जोखिमपूर्ण अवस्थामा बंकरमा अनि सामान्य अवस्थामा होटलमा बस्दै आएका थिए। मेयर कोइरालाका प्रेस सल्लाहकार मीनकुमार नवोदितका अनुसार स्थलमार्गबाट जोर्डन गएर त्यहाँबाट विमानमार्फत कुवेत, भारतको मुम्बई, नयाँ र दिल्ली हुँदै बिहीबार अपराहन् साढे ४ बजे काठमाडौं आइपुग्ने छन्।

काठमाडौं आएपछि आजै साँझ ६ः०५ बजेको बुद्ध एयरको उडानमार्फत विराटनगर आउने कार्यक्रम रहेको नवोदितले जानकारी दिए।

त्यहाँ रहेका बेला मेयर कोइरालाले आफू सुरक्षित रहेको जानकारी दिएका थिए। अलि जोखिमपूर्ण अवस्था हुँदा साइरन बज्ने अनि त्यसको डेढ मिनटभित्र नजिकैको बंगरमा जानुपर्ने नियम रहेको मेयर कोइरालाले बताएका थिए।

जोखिम कम भएर साइरन बज्न छाडेको १० मिनटभित्र फेरि आफू बसेको स्थानमा फर्कने गरेको उनको भनाइ थियो।