काठमाण्डौ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने

विराटनगर । सर्वोच्च अदालतले काठमाण्डौ उपत्यकाका बागमती र यसका सहायक नदीका हकमा निर्धारित मापदण्डबाहेक दायाँबायाँ थप २० मिटर छाडेर मात्र नक्सा पास गर्नुपर्ने फैसला बदर गरेको छ ।

न्यायाधीशहरु सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको पूर्ण इजलासले यसअघि २०८० साल पुस ३ गते सर्वोच्च अदालतले दायाँबायाँ २० मिटर छाडेर घर बनाउनुपर्ने फैसला हिजो उल्टाईदिएको हो । अदालतको यो फैसलासँगै नदी किनारा आसपास २० मिटर छाड्न नपर्ने भएको छ ।

‘उल्लिखित थप २० मिटरभित्रको जग्गामा कानुनबमोजिम नक्सा पास गरी पहिले नै भवन आदि संरचना निर्माण गरिएको अवस्थामा नदी किनारा क्षेत्रमा स्थायी संरचनाहरु निर्माण गर्न र नदी तथा खोलाको सहज प्रवाहका लागि आवश्यक पर्ने जग्गा कानुनबमोजिम क्षतिपूर्ति प्रदान गरी प्राप्त गर्ने भन्ने हदसम्मको फैसला कानुन र न्यायको रोहमा मिलेको नदेखिँदा त्यो हदसम्म संयुक्त इजलासको २०८० पुस ३ गतेको फैसला केही उल्टी हुने ठहर्छ’ फैसलामा भनिएको छ ।