फागुन २१ : चुनाव हुँदैन कि भन्ने आशंका, बहाना र निहुँहरूको म्याद सकियो

विराटनगर । फागुन २१ को चुनावको तयारी अन्तिम चरणमा पुगेको छ । केही समयअघिसम्म चुनाव हुन्छ कि हुँदैन भन्ने आशंका, अड्कल र हल्लाले पनि राजनीति तताएको थियो । कसैले मौसम देखाएर शंका गरे, कसैले अदालतमा विचाराधीन संसद पुनर्स्थापनाको मुद्दा देखाएर चुनाव नहुन पनि सक्छ भने । तर अब ती सबै आशंका, बहाना र निहुँहरूको म्याद सकिएको छ ।

संसद पुनर्स्थापनाको मुद्दा सर्वोच्चमा विचाराधीन त छ । तर सर्वोच्चले यसअघि नै रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै अग्राधिकार दिन पनि इन्कार गरिसकेको छ । सर्वोच्चले रिट निवेदकहरूलाई अब पर्सि २८ गतेका लागि साधारण तारेख दिएर पठाएको छ ।

यसअघि माघ २० गतेका लागि साधारण तारेख दिएको थियो । रिट दायर गरेका निवेदकलाई पुनः साधारण तारेख दिएपछि अब समयको चाप र अदालती प्रक्रियाका कारण फागुन २१ अघि नै पेसी तोकेर सुनुवाइ हुन सक्ने अवस्था छैन ।

यस्तै मौसमविद्हरूले पनि फागुन २१ को आसपास मौसम सफा रहने पूर्वानुमान गरिसकेका छन् । योसँगै हिमाली जिल्लामा हिमपातले असर गर्ला कि भन्ने शंका पनि हटेको छ । दल, उम्मेदवार र मतदाता सबैलाई चुनाव लागिसकेको छ । अब चुनाव हुँदैन कि भनेर भ्रम फैलाउने आधार नै बाँकी छैन ।

चुनाव केवल मिति होइन, लोकतन्त्रको परीक्षा हो । चुनावको तयारीसँगै त्यसको चरित्र पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । स्वच्छ, स्वस्थ, भयरहित र निष्पक्ष चुनाव सरकार र निर्वाचन आयोगको मात्रै जिम्मेवारी होइन । राजनीतिक दल, उम्मेदवार र मतदाता सबैको साझा दायित्व हो ।

राजनीतिक दल र उम्मेदवारहरूका लागि यो चुनाव आफैँलाई प्रमाणित गर्ने अवसर हो । एक अर्कालाई गाली गरेर होइन, नीति, कार्यक्रम र दृष्टिकोणबाट प्रतिस्पर्धा गर्ने संस्कार विकास हुनैपर्छ । झुटा आश्वासन बाँडेर मतदाता भ्रममा पार्ने पुरानो शैलीले समाजलाई निराश मात्र बनाएको छ । अनुचित लोभ, पैसा, प्रभाव र डर देखाएर भोट माग्ने प्रवृत्तिले चुनाव जितिएला, तर लोकतन्त्र हार्छ ।

चुनावी प्रचारमा सामाजिक सञ्जाल सबैभन्दा शक्तिशाली माध्यम बनेको छ । यही माध्यम विचार आदान–प्रदानको थलो बन्नुपर्ने हो । तर दुर्भाग्यवश गाली, अपमान, अफवाह र गलत सूचना फैलाउने अस्त्र बनेको देखिन्छ । राजनीतिक कार्यकर्ताले सम्झनुपर्छ—सामाजिक सञ्जालमा फैलिएको असभ्यता अन्ततः आफ्नै समाजमा फर्किन्छ । चुनाव जित्न समाज हार्ने बाटो रोज्नु बुद्धिमानी होइन ।

मतदाताको भूमिका पनि अब बदलिनैपर्छ । मतदाता केवल भोट हाल्ने संख्या होइन, लोकतन्त्रको मेरुदण्ड हो । आश्वासन सुन्दा प्रश्न गर्नुपर्छ । भावनामा होइन, विवेकमा भोट हाल्नुपर्छ । जात, क्षेत्र, पार्टीको झण्डाभन्दा माथि उठेर उम्मेदवारको व्यवहार, विगत र दृष्टिकोण हेर्न सक्ने हो भने मात्रै चुनावको अर्थ रहन्छ ।

अब चुनाव हुँदैन कि भन्ने भ्रम फैलाउने र शंका गर्ने समय सकियो । फागुन २१ निश्चित छ, टार्न मिल्दैन । अब बहानाको होइन, जिम्मेवारीको बेला हो । चुनाव कसरी स्वच्छ, निष्पक्ष र भयरहित बनाउने भन्नेमा सबैको ध्यान पुग्नुपर्छ । सरकार, आयोग, दल, उम्मेदवार र मतदाता—सबै आ–आफ्नो ठाउँबाट इमानदार भए मात्रै फागुन २१ को चुनावले देशलाई सही दिशातिर डोर्याउनेछ ।