‘रियाल रिङ्गेट’ साउन १६ गतेदेखि प्रदर्शनमा, वैदेशिक रोजगारीको कथामा आधारित

काठमाडौं / वैदेशिक रोजगारीको सपनामा विदेशिने नेपाली युवाहरूको जीवनका संघर्ष, आशा र बिछोडको कथामा आधारित फिल्म ‘रियाल रिङ्गेट’ आगामी साउन १६ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ।

निर्माण कम्पनी रेबेल फिल्म्सले शुक्रबार एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो। सार्वजनिक पोस्टरमा फिल्मकी मुख्य अभिनेत्री नीता ढुंगानालाई भावुक मुद्रामा प्रस्तुत गरिएको छ। पोस्टरले फिल्मको भावनात्मक गहिराइ र सामाजिक यथार्थ उजागर गर्ने संकेत दिएको छ। पोस्टरको बीच भागमा विविध सामाजिक पृष्ठभूमिका पात्रहरू देखिन्छन्, जसले विपन्नता र अवसरको खोजीमा विदेशिएका युवाहरूको प्रतिनिधित्व गर्छन्। पृष्ठभूमिमा खाडी मुलुकका गगनचुम्बी भवनहरू झल्किँदा फिल्मको सन्दर्भ अझ स्पष्ट भएको देखिन्छ।

विभोर पोखरेलद्वारा निर्देशित फिल्मका निर्माता गगनलाल प्रधान हुन्। निर्देशक पोखरेलले यसअघि दर्जनौं म्युजिक भिडियो निर्देशन गरिसकेका छन् भने निर्माता प्रधान गीत–सङ्गीतको क्षेत्रमा दशकौँदेखि सक्रिय छन्। फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन्।

फिल्ममा नीता ढुंगानासँगै प्रमोद चौलागाईं, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल र बिमला गिरी लगायतको अभिनय रहनेछ।

फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर तथा राजीव समरको कोरियोग्राफी समावेश गरिएको छ।