“कला, सीप र सम्भावनाको संगम“ बाँसको जरा

विराटनगर । विराटनगरकी अन्जु अधिकारीलाई बाँसको जरा आगो बाल्न मात्र काम लाग्छ भन्ने लाग्थ्यो । उनलाई बाँसबाट कलात्मक चित्रहरु बनाउन सकिन्छ भन्दा अचम्म लाग्यो ।

बाँसको जराबाट उपहार जन्य सामग्री बनाउने तालिममा बोलाउँदासम्म उनी यो विषयमा अनविज्ञ थिईन् । उनको मनमा कौतुहलता थियो । जव उनी तालिममा सहभागि भईन् , चकित बनिन् ।

१२ दिनसम्म तालिममा सहभागि भएपछि उनलाई बाँसको जराबाट कलात्मक सामग्री बनाएर नै आर्थिक उपार्जन गर्न सकिन्छ भन्ने कुरामा विश्वस्थ भईन् । बजारीकरणमा स्थानीय तथा प्रदेश सरकारले सहजीकरण गर्ने ग्यारेन्टी गरे व्यवसायिक रुपमा काम गर्ने समेत बताईन् ।

खोटाङका सुदिप राई विभिन्न सिप विकास तालिममा सहभागि भएका छन् । उनलाई हस्तकलाका धेरै सामग्री बनाउन आउँछ । उनको सिपमा अर्को सिप थपिएको छ, बाँसको जराबाट बनाउन सकिने कलात्मक हस्तकला सामग्री बनाउने । तालिममा सिकेको सिपलाई व्यवसायिकरण गर्नको लागि बजारीकरणमा सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए । सरकारले सहयोग गर्दा उत्पादित सामान राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा पठाउन सहज हुने पनि उनले बताए । जसले सिप सिकेका युवाहरुलाई हौसला मिल्ने उनको भनाई छ ।

कोशी प्रदेश पर्यटन वर्ष २०८२ को सन्दर्भमा विराटनगरमा आयोजित “बाँसको जराबाट उपहार जन्य सामग्री उत्पादन सम्बन्धी तालिम“ बिहिबार सम्पन्न भएको छ ।

बंगलामुखी हस्तकला केन्द्र भद्रपुरको आयोजना तथा पर्यटन कार्यालय झापाको सहकार्यमा सम्पन्न तालिममा प्रदेशका विभिन्न जिल्लाका १९ जनाको सहभागिता रहेको थियो ।

तालिममा सहभागीहरूले बाँसको जराबाट विभिन्न आकर्षक कलात्मक वस्तुहरू—चराचुरुंगी, जनावरका आकृति, घडी र भित्ते सजावटका सामग्रीहरू निर्माण गरेका थिए ।

तालिमको प्रमुख प्रशिक्षकको रुपमा सञ्जय प्रधान र सहायक प्रशिक्षकमा जतन राजवंशी र तुल्सी मास्के रहेका थिए ।

तालिमको समापन कार्यक्रममा बोल्दै कार्यक्रममा कोसीका पर्यटन मन्त्री सदानन्द मण्डलले बाँसको ठुटा र जराबाट कलात्मक सामग्री बनाएर उपहार दिन सकिने रहेछ भन्ने तालिमबाट देखिएको बताए । उनले वरिपरि रहेको बाँसको जरालाई खेर जान नदिन तालिम गरिएको बताए । खेर गएको बस्तुलाई सदुपयोग गर्दा रोजगारी बढ्ने उनको भनाई छ । उनले प्राकृतिक युगबाट रसायनिक युगमा गएको विश्व फेरी प्राकृतिक युगमा सुरु गरेको समेत बताए । प्राकृतिक चिजलाई जगेर्ना गर्न कोशी प्रदेश सरकार लागि परेको उनले बताए ।

“पर्यटन वर्ष घोषणा गरेर केही काम छैन भनेहरुलाई म भन्छु राम्रो काम गरेको छु,” उनले भने । उनले मेहनत, सिर्जनात्मकता र हस्तकलाको सम्भावनाप्रति प्रशंसा व्यक्त गरे ।

पर्यटन मन्त्रालयका सचिव विशाल घिमिरे, पर्यटन बर्ष निर्देशन समितिका भविष श्रेष्ठ र मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा. मोहन सुवेदी, पर्यटन कार्यालय झापाका प्रमुख छविलाल खतिवडाले बाँसबाट निर्मित सामग्रीले रोजगारी सिर्जना गर्नसक्ने सम्भावनाबारे धारणा राखेका थिए । उनीहरुले तालिमले युवाहरूलाई स्वरोजगारमुखी सीपमा अभिप्रेरित गर्ने अपेक्षा गरिएको बताए ।

आयोजक संस्थाका अध्यक्ष दिनेश श्रेष्ठले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।