काठमाडौं । सरकारले मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। आइतबार सार्वजनिक गरिएको विवरणमा प्रधानमन्त्रीसहित सबै मन्त्रीहरूको सम्पत्ति समावेश गरिएको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम मन्त्रिपरिषद्का सदस्यहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आफ्नो सम्पत्ति विवरण पेश गरेका थिए। सोही कानुनी व्यवस्थाअनुसार संकलित विवरणलाई सार्वजनिक गरिएको सरकारको भनाइ छ। उपसचिव विष्णुप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयअनुसार उक्त विवरण सार्वजनिक गरिएको उल्लेख गरिएको छ। सार्वजनिक गरिएको विवरणमा मन्त्रीहरूको चल–अचल सम्पत्ति, नगद, बैंक मौज्दात, सवारी साधनलगायत विभिन्न विवरण समावेश गरिएको जनाइएको छ। सरकारले हरेक वर्ष सार्वजनिक पदमा रहेका व्यक्तिहरूले आफ्नो सम्पत्ति विवरण अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था अनुसार यो विवरण सार्वजनिक गरिएको हो। यसलाई पारदर्शिता र सुशासन प्रवर्द्धन गर्ने कदमका रूपमा पनि हेरिएको छ।
यद्यपि, सार्वजनिक गरिएको सम्पत्तिको स्रोत खुलाइएको छैन भन्ने विषयलाई लिएर विभिन्न राजनीतिक तथा सार्वजनिक वृत्तमा बहस सुरु भएको छ।

