चोटसँगको लामो संघर्षपछि सिद्धान्त लोहनीले लिए व्यावसायिक क्रिकेटबाट सन्यास

विराटनगर । नेपाली क्रिकेटमा आक्रामक ब्याटिङका कारण छुट्टै पहिचान बनाएका क्रिकेटर सिद्धान्त लोहनीले व्यावसायिक क्रिकेटबाट आधिकारिक रूपमा सन्यास लिएका छन्।

पछिल्लो करिब तीन वर्षदेखि चोटका कारण मैदानबाहिर रहेका लोहनीले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट डेब्यु गरेको दिन अर्थात् जुलाई १८ मै भावुक सन्देशमार्फत सन्यासको घोषणा गरेका हुन्।

सन् २०१५ जुलाई १८ मा आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत जर्सीविरुद्ध डेब्यु गरेका लोहनीले पहिलो अन्तर्राष्ट्रिय खेलमै प्रभावशाली प्रदर्शन गरेका थिए। नेपाल संकटमा रहेका बेला सातौँ नम्बरमा ब्याटिङ गर्न आएका उनले १६ बलमा २ चौका र २ छक्काको मद्दतले २७ रन बनाएका थिए। सोही खेलमा उनले प्रहार गरेको चर्चित ‘हेलिकोप्टर सट’ ले नेपाली क्रिकेट समर्थकको ध्यान तानेको थियो।तर, सन् २०२२ को अन्त्यतिर घरेलु क्रिकेट खेल्ने क्रममा देब्रे घुँडामा गम्भीर चोट लागेपछि उनको क्रिकेट यात्रा कठिन बन्दै गयो। चोटसँगै देखिएको संक्रमणका कारण उनले सात पटकसम्म घुँडाको शल्यक्रिया गराउनुपरेको थियो। अन्ततः देब्रे घुँडाको पूर्ण प्रतिस्थापन गर्नुपरेपछि उनको व्यावसायिक क्रिकेट करियर टुंगिएको हो।सन्यासको घोषणा गर्दै लोहनीले सात पटकको घुँडाको शल्यक्रियापछि आफ्नो मैदानको यात्रा अन्त्य भएको बताएका छन्। व्यावसायिक क्रिकेटमा फर्कन नसके पनि अहिले सामान्य रूपमा हिँड्न सक्ने अवस्थामा पुगेकोमा उनले भगवानप्रति आभार व्यक्त गरेका छन्।‘जुलाई १८ मेरो मुटुमा सधैं विशेष रहनेछ। यही दिन मैले पहिलो पटक राष्ट्रिय टोलीको जर्सी लगाएको थिएँ र आजकै दिन व्यावसायिक क्रिकेटबाट टाढिँदैछु,’ उनले लेखेका छन्।व्यावसायिक क्रिकेटबाट सन्यास लिए पनि लोहनी क्रिकेट क्षेत्रबाट पूर्ण रूपमा टाढिने छैनन्। आगामी दिनमा क्रिकेटकै क्षेत्रमा नयाँ भूमिकामा देखिने उनको संकेत छ।चोटका कारण करियर समयअगावै टुंगिए पनि आफ्नो आक्रामक ब्याटिङ र चर्चित ‘हेलिकोप्टर सट’ का कारण सिद्धान्त लोहनी नेपाली क्रिकेट समर्थकको स्मृतिमा भने सधैं रहनेछन्।