विराटनगरमा ३६ करोड लगानीमा इफराह आँखा अस्पताल सञ्चालनमा आएको छ l

विराटनगर । विराटनगर महानगरपालिका–१५ मलाया रोडमा ३६ करोड रुपैयाँको लगानीमा आधुनिक सुविधासम्पन्न इफराह आँखा अस्पताल सञ्चालनमा आएको छ।

सोमबार आयोजित विशेष समारोहबीच कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र अस्पतालका अध्यक्ष मोहम्मद जाकिर हुसेनले संयुक्त रूपमा अस्पतालको उद्घाटन गरे।

अस्पतालका अध्यक्ष हुसेनका अनुसार पहिलो चरणमा दैनिक कम्तीमा ५० जना बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ। अस्पतालले ५० भन्दा बढी स्थानीयलाई रोजगारीसमेत प्रदान गरेको उनले बताए।

अस्पतालका निर्देशक तथा वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. जितेन्द्रकुमार झाले आँखासम्बन्धी जटिल रोगहरूको उपचारका लागि अत्याधुनिक सेवा उपलब्ध रहेको जानकारी दिए। अस्पतालमा मोतियाविन्दुको शल्यक्रिया, अकुलोप्लास्टी (आँखाको प्लास्टिक सर्जरी) तथा रेटिनासम्बन्धी रोगको विशेषज्ञ उपचार सेवा उपलब्ध हुनेछ।

अस्पताल सञ्चालनमा आएसँगै कोशी प्रदेशसहित छिमेकी भारतीय सहरका आँखाका बिरामीसमेत लाभान्वित हुने विश्वास गरिएको छ।