विराटनगर
सरकारको अधिकार क्षेत्रमा हस्तक्षेप गर्दै प्रशासनले ताला लगाएको भन्दै चौतर्फी आलोचना र राजनीतिक दबाबपछि ती अस्पतालमा लगाएको ताला खुलेको हो । प्रशासनले साउन २७ र २८ गते मापदण्ड नपुगेको दाबी गर्दै विराट आँखा अस्पताल, सञ्जीवनी आई केयर, हिमाल आँखा अस्पताल, विराट रानी आँखा अस्पताल, अखण्ड ज्योति, नेपाल आँखा अस्पताल र इफराह आँखा अस्पतालमा शिलबन्दी गरेको थियो । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले पत्रचार गरेपछि मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय मोरङका प्रशासकीय अधिकृत कोविद ढकालसहितको टोलीले अस्पतालमा लगाइएको ताला खोलेको हो ।
कोशी प्रदेशका स्वास्थ्य सचिव डा. कीर्तिपाल सुवेदीले मन्त्रालयद्वारा गठित अध्ययन समितिले प्रतिवेदन बुझाएपछि अस्पतालहरू खुला गरिएको जानकारी दिएका छन् । प्रशासनले साउनमा अस्पतालहरूमा छापा मारी शिलबन्दी गरेपछि स्वास्थ्य मन्त्रालयले उपसचिव निर्मल भट्टराईको नेतृत्वमा अध्ययन समिति गठन गरेको थियो । उक्त समितिले प्रतिवेदन बुझाएपछि र मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रशासनलाई निर्देशन दिएपछि अस्पताल खोल्ने बाटो खुलेको हो ।
स्वास्थ्य संस्थाजस्तो संवेदनशील क्षेत्रमा सुधारको मौका नदिई संघीय सरकार मातहतको प्रशासनले हस्तक्षेप गरेको भन्दै स्वास्थ्यकर्मी, सम्बन्धित संघसंस्था र राजनीतिक दलले विरोध जनाउँदै आएका थिए । सोमबार कोशी प्रदेशसभा बैठकमा पूर्वमुख्यमन्त्रीद्वय केदार कार्की र उद्धव थापाले समेत अस्पताल तत्काल खोल्न माग गरेका थिए ।
आँखा अस्पतालहरू शिलबन्दी गर्दा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइराला र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो । तर, शिलबन्दी गरिएका अस्पताल खोल्न जाँदा उनीहरूको उपस्थिति थिएन । प्रशासनले प्रशासकीय अधिकृत कोविद ढकाल र खरिदार भानुभक्त भट्टराईलाई मात्र पठाएको थियो ।
