कांग्रेस महाधिवेशन प्रतिनिधिमा पत्रकार धिरज दाहालको उम्मेदवारी

विराटनगर । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनमा विराटनगरका पत्रकार धिरज दाहालले केन्द्रीय महाधिवेशन प्रतिनिधि (पेशागत विषय विज्ञ) पदमा उम्मेदवारी दिएका छन्।

विराटनगर महानगरपालिका–८ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित दाहालले कांग्रेसको लोकतान्त्रिक आन्दोलनसँग जोडिएको पारिवारिक विरासत र आफूले पत्रकारितामा हासिल गरेको १५ वर्षे अनुभवलाई उम्मेदवारीको आधार बनाएका छन्।

दाहालको परिवार नेपाली कांग्रेसको राजनीतिक आन्दोलनसँग लामो समयदेखि जोडिएको छ। उनका पिता स्वर्गीय पीताम्बर दाहाल नेपाली कांग्रेस मोरङका जिल्ला सचिवसमेत भएका थिए। प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहेकै कारण आफ्नो परिवारले राजनीतिक प्रताडना भोग्नुपरेको दाहाल बताउँछन्।

उनका अनुसार प्रजातन्त्रका लागि भएको आन्दोलनमा परिवारको सहभागिताका कारण उनीहरूको परिवारलाई सर्वस्वसहित देश निकाला गरिएको थियो। त्यही राजनीतिक संघर्ष र लोकतान्त्रिक मूल्यको संस्कार आफूले परिवारबाट प्राप्त गरेको दाहालको भनाइ छ।

‘मेरो राजनीतिक चेतनाको पहिलो पाठशाला नै मेरो परिवार हो,’ दाहालले भने, ‘बुबाले प्रजातन्त्र र लोकतन्त्रका लागि गर्नुभएको संघर्ष मेरो पुस्ताका लागि प्रेरणाको विषय हो। उहाँको राजनीतिक योगदानलाई सम्मान गर्दै अहिलेको पुस्ताको पेशागत अनुभव र क्षमता कांग्रेसको संगठन तथा नीतिगत बहसमा जोड्न चाहन्छु।’

पारिवारिक राजनीतिक पृष्ठभूमिसँगै दाहाल विगत १५ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन्। लामो समयदेखि सञ्चार क्षेत्रमा रहेर राजनीतिक, सामाजिक, आर्थिक तथा समसामयिक विषयलाई नजिकबाट नियाल्दै आएका दाहालले पत्रकारिताबाट प्राप्त अनुभवलाई पार्टीको नीति, संगठन र सार्वजनिक सरोकारका विषयमा उपयोग गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

उनले आफू कुनै परम्परागत राजनीतिक पदका लागि मात्र नभई पेशागत क्षेत्रबाट प्राप्त ज्ञान, अनुभव र दृष्टिकोणलाई कांग्रेसको निर्णय प्रक्रियासँग जोड्ने उद्देश्यले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको बताएका छन्।

‘पत्रकारिताले मलाई समाजलाई नजिकबाट बुझ्ने अवसर दिएको छ,’ दाहालले भने, ‘जनताका समस्या, राजनीतिक दलप्रतिको अपेक्षा र बदलिँदो सामाजिक परिवेशलाई नजिकबाट बुझेकाले त्यस अनुभवलाई पार्टीभित्रको नीति तथा बहसमा उपयोग गर्न चाहन्छु।’

कांग्रेसको संगठनलाई समयअनुकूल बनाउन पेशागत क्षेत्रका विज्ञता र अनुभवलाई पार्टीको नीति निर्माणसँग जोड्नुपर्ने उनको धारणा छ। लोकतान्त्रिक आन्दोलनको विरासत बोकेको कांग्रेसले नयाँ पुस्ताको ज्ञान, प्रविधि, सञ्चार र पेशागत क्षमतालाई पार्टी निर्माणमा प्रभावकारी रूपमा प्रयोग गर्नुपर्ने दाहाल बताउँछन्।

१५ वर्षको पत्रकारिता अनुभव र कांग्रेससँग जोडिएको पारिवारिक राजनीतिक विरासतलाई आधार बनाउँदै दाहालले अब पार्टीको केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा आफ्नो भूमिका खोजेका छन्। विराटनगर–८ बाट क्षेत्रीय प्रतिनिधि निर्वाचित भएपछि उनको उम्मेदवारीले स्थानीय तहको संगठनात्मक सहभागिताबाट केन्द्रीय महाधिवेशनको प्रतिनिधित्वतर्फको यात्रा अघि बढाएको छ।