विराटनगर । विदेशमा रहेका व्यक्तिको फेसबुक आईडी ह्याक गरी नेपालमा रहेका आफन्त तथा चिनजानका व्यक्तिसँग पैसा मागेर ठगी गरेको आरोपमा दुई भारतीय नागरिकसहित चार जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिक ताहिर हुसेन र मो. साविदिन तथा विराटनगरका जफर आलम र फैयाज खान रहेका छन्।
उनीहरूले ह्याक गरिएको फेसबुक आईडीमार्फत आफन्तलाई विभिन्न समस्या परेको भन्दै रकम माग्ने र बैंक खाताको क्यूआर कोड पठाएर पैसा जम्मा गर्न लगाउने गरेको प्रहरीको आरोप छ।
प्रहरीका अनुसार यसरी पीडितबाट विभिन्न बैंक खातामा क्यूआर कोडमार्फत ४ लाख ४५ हजार रुपैयाँ जम्मा गर्न लगाइएको थियो।
विराटनगरका विभिन्न स्थानबाट बिहीबार पक्राउ परेका चारै जनामाथि जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी मकेन्द्र कुमार मिश्रले जानकारी दिएका छन्।