विराटनगरको उखुबारीमा ३२ वर्षीय युवकको शव फेला, तीन दिनअघि घरमै पुगेर हत्या गर्ने धम्की

विराटनगर । मोबाइल चोरीको आरोप लगाउँदै केही युवाले हत्या गर्ने धम्की दिएको तीन दिनपछि विराटनगरमा एक युवकको शव फेला परेको छ।विराटनगर महानगरपालिका–४ इक्राहीका ३२ वर्षीय राजन दासको शव शुक्रबार दिउँसो स्थानीय उखुबारीमा घोप्टो परेको अवस्थामा फेला परेको हो।प्रहरीका अनुसार दासको शरीरका विभिन्न भागमा चोटपटक देखिएको छ। दाहिने कान, आँखा र अनुहारमा चोट लागेको तथा हातको एउटा औँला काटिएको अवस्थामा शव भेटिएको थियो।

परिवारका सदस्यले दिएको जानकारीअनुसार तीन दिनअघि केही युवा मोबाइल चोरीको आरोप लगाउँदै दासको घरमै पुगेका थिए। उनीहरूले भेटेमा हत्या गर्ने धम्की दिएको प्रारम्भिक जानकारी प्रहरीलाई प्राप्त भएको छ।

घटनास्थलमा मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालसहितको टोली पुगेको थियो। प्रहरीले तालिमप्राप्त कुकुरसहित अनुसन्धान अघि बढाएको छ। मोबाइल चोरीको आरोप लगाउने युवाहरूमाथि पनि अनुसन्धान केन्द्रित गरिएको छ।

मृतक दास छठ पर्वका बेला काठमाडौंस्थित कामबाट घर आएका थिए। उनी तीन दिनदेखि परिवारको सम्पर्कमा थिएनन्। उनको श्रीमती वैदेशिक रोजगारीका लागि कुवेतमा रहेकी छन्। उनका एक छोरा र एक छोरी छन्।

प्रहरीले शव पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको छ। घटनामा संलग्न व्यक्तिको पहिचान र हत्याको कारण खुलाउन अनुसन्धान तीव्र पारिएको मोरङ प्रहरीले जनाएको छ।