साफ महिला यु-२० च्याम्पियनसिपमा नेपालको सानदार जित

विराटनगर । साफ (SAFF) महिला यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले श्रीलंकामाथि सानदार जित निकालेको छ।

मंगलबार बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा भएको खेलमा नेपालले श्रीलंकालाई ७–० को फराकिलो अन्तरले पराजित गरेको हो।

नेपालको जितमा मीना देउवाले ह्याट्रिक गर्दै चम्किएकी छन्। उनले खेलको ८औं, ४२औं र ७०औं मिनेटमा गोल गर्दै व्यक्तिगत तीन गोल पूरा गरिन्। त्यस्तै पूर्णिमा राईले दुई गोल गरेकी छन् भने समीक्षा मगर र सरिता नाथले समान एक–एक गोल थपे।

यस जितसँगै नेपालले प्रतियोगितामा तीन खेलबाट ६ अङ्क जोडेको छ। पहिलो खेलमा नेपालले भुटानलाई ६–१ ले पराजित गरेको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो।

बङ्गलादेश ९ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ भने नेपाल दोस्रो स्थानमा उक्लिएको छ। श्रीलंका भने अहिलेसम्म कुनै पनि खेलमा जित निकाल्न सकेको छैन।

नेपालले आगामी खेलमा फाइनल पुग्ने सम्भावना कायम राखेको छ।