वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा

विराटनगर । वेस्ट इन्डिजका चर्चित अलराउन्डर आन्द्रे रसेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन्।

३७ वर्षीय रसेलले आफ्नो घरेलु मैदान जमैकाको सबिना पार्कमा अस्ट्रेलियाविरुद्ध खेलिने पहिलो दुई टी-२० अन्तर्राष्ट्रिय खेलपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिने बताएका हुन्।

रसेलले सन् २०१९ पछि वेस्ट इन्डिजको लागि केवल टी-२० क्रिकेट खेल्दै आएका थिए। उनले आफ्नो करियरमा १ टेस्ट, ५६ एकदिवसीय र ८४ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।

उनको संन्यासको घोषणा सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने अर्को टी-२० विश्वकपभन्दा सात महिना अघि आएको हो। यसले उनलाई अन्तिम पटक घरेलु दर्शकसमक्ष देखिने अवसर पनि दिनेछ।

संन्यासको घोषणा गर्दै रसेलले भावुक हुँदै भने,

 “वेस्ट इन्डिजको प्रतिनिधित्व गर्नुको अर्थ के हो, त्यो शब्दमा बयान गर्न सक्दिनँ। यो मेरो जीवनको सबैभन्दा गर्विलो उपलब्धिहरूमध्ये एक हो।”

दुई महिनाभन्दा कम अवधिमा संन्यास लिने उनी दोस्रो चर्चित वेस्ट इन्डियन खेलाडी हुन्। यसअघि निकोलस पूरनले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका थिए।

रसेलको संन्यासले वेस्ट इन्डिज क्रिकेटमा ठूलो खालीपन ल्याउने निश्चित छ, विशेषतः टी-२० ढाँचामा उनले दिएको योगदान अझै धेरैलाई स्मरणीय रहनेछ।