बीस बर्ष मुनिको साफ महिला च्याम्पियनसिपको निर्णायक खेलमा आज नेपालले वंगलादेशको सामना गर्दैै/ नेपाली टोली च्याम्पीयन बन्न यो खेल जित्नै पर्ने दबाव ।

विराटनगर । नेपाली यु–२० महिला फुटबल टीम साफ यु–२० महिला च्याम्पियनसिपको अन्तिम खेल आज साँझ वंगलादेशको ढाकामा हुँदैछ ।
उपाधि जित्ने लक्ष्यसहित बंगलादेश पुगेको नेपाली टोलीका लागि च्याम्पीयन बन्न यो खेल जित्नै पर्ने बाध्यता छ । हालसम्मको लिग चरणको प्रदर्शन हेर्दा बंगलादेश ५ खेलमा १५ अंकसहित अपराजित छ । नेपाल ४ जित र १ हारसहित १२ अंक जोडेर दोस्रो स्थानमा छ । नेपालले भुटान र श्रीलंकालाई दुई–दुई खेलमा हराउँदा बंगलादेशसँग पहिलो खेलमा ३–२ को हार बेहोरेको थियो ।

नेपाललाई उपाधि जित्न अन्तिम खेलमा बंगलादेशलाई जित्नैपर्ने दबाब छ । बराबरी भएमा बंगलादेश च्याम्पियन बन्नेछ । नेपालले दुई गोल अन्तरले जिते उपाधि स्वतः हात पार्नेछ भने एक गोलको जित भएमा अंक बराबरी हुनेछ र त्यस अवस्थामा समग्र गोलअन्तरको आधारमा निर्णय हुनेछ ।

हालसम्म नेपालले ३० गोल गरेको छ भने बंगलादेशको २४ गोल छ, दुवैले ४–४ गोल खाएका छन् ।

नेपाली टोलीका प्रशिक्षक याम प्रसाद गुरुङले पहिलो खेलको कमजोरीलाई सुधार्दै नयाँ रणनीति बनाउने बताएका छन् । कप्तान बिर्सना चौधरीले पनि च्याम्पियन बन्नकै उद्देश्यले बंगलादेश आएको बताउँदै टोलीले टिमवर्कका आधारमा जित निकाल्ने विश्वास व्यक्त गरिन् ।