
विराटनगर । बंगलादेशले २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप जितेको छ ।

अन्तिम खेलमा हिजो नेपाललाई ४–० गोलले हराउँदै बंगलादेश पाँचौं पटक च्याम्पियन बनेको हो । अहिलेसम्म बंगलादेश र भारतले मात्र यो प्रतियोगिताको उपाधि जितेका छन् । भारतले जम्मा २ पटक उपाधि जितेको छ । नेपाल तेस्रो पटक उपविजेतामा सीमित बन्यो ।
यसअघि सन् २०१८ र २०२३ मा नेपाल उपाधिबाट चुकेको थियो । दुवै पटक नेपाल बंगलादेशसँग नै हारेको थियो । नेपाल तीन पटक तेस्रो भएको इतिहास छ ।
बंगलादेश ६ खेलमा सबै जितेर १८ अंकसहित च्याम्पियन बन्यो । ६ खेलमा ४ मा जीत र २ हारका साथ नेपाल १२ अंकसहित दोस्रो बनेको छ ।
नेपालले बंगलादेशसँग पहिलो खेलमा ३–२ ले पराजित भएको थियो । बंगलादेशसँग हारेपनि नेपालले श्रीलंका र भूटानविरुद्ध सानदार जीत निकालेको थियो ।