हेल्प नेपाल स्पोर्टस क्लब काभा मेन्स च्याम्पियन्स लिगमा कास्य पदक जित्न सफल।

विराटनगर ।नेपाली लिग च्याम्पियन टिम टप हेल्प नेपाल स्पोर्टस क्लबले माल्दिभ्समा भएको काभा मेन्स च्याम्पियन्स लिगमा कास्य पदक जितेको छ ।

तेस्रो स्थानको लागि आज भएको खेलमा श्रीलंकाको पुलिस क्लबलाई ३-१ ले हराएको हो । हेल्प नेपाल पहिलो तथा दोस्रो सेटमा विजयी भएको थियो । तेस्रो सेटमा हार बेहोरेको हेल्प नेपालले चौथो सेटमा जितका साथ तेस्रो स्थान हात पारेको हो ।

पहिलो सेट २५-२० तथा दोस्रो सेट २५-१५ ले जितेको हेल्प नेपालले तेस्रो सेट २०-२५ ले गुमाएको थियो । चौथो सेटमा २५-२३ को जित निकाल्दै हेल्प नेपालले कास्य पदक जितेको हो ।

हेल्प नेपाल लिग चरणको ५ मध्ये ४ खेलमा विजयी भएको थियो । सेन्ट्रल एसियन भलिबल एसोसियन (काभा) को आयोजना भएको च्याम्पियन्स लिगमा काभाका सदस्य रहेका ५ देशका लिग च्याम्पियन क्लब र आयोजकको उपविजेता समेत गरि ६ टोलीको सहभागिता रहेको थियो ।

प्रतियोगिता सिंगल राउण्ड रोबिनका आधारमा भएको थियो । दुवै पटकको सहभागितामा हेल्प नेपालले पदक जितेको छ। गत वर्ष स्वदेशमा भएको च्याम्पियनसिपमा हेल्प नेपालले रजत पदक जितेको थियो।