अस्ट्रियाको पर्यटकीय सहर इन्स्ब्रुकमा भलिबल प्रतियोगिता हुने

अष्ट्रिया । ‘स्वास्थ्य र अनुशासनका लागि खेलकुद’ भन्ने मूल नाराका साथ नेपाल युरोपियन स्पोर्ट क्लब (एनईएससी) को आयोजनामा आउँदो भदौ ७ गते (अगस्ट २४, २०२५) आइतबारका दिन अस्ट्रियाको पर्यटकीय सहर इन्स्ब्रुकमा भलिबल प्रतियोगिता हुने भएको छ ।

युरोपभरि रहेका नेपाली समुदायबीच आपसी भाइचारा, भेटघाट र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले यो प्रतियोगिता विगतदेखि नै आयोजना हुँदै आएको थियो । यस वर्ष तेस्रो संस्करणको रुपमा हुने प्रतियोगितामा युरोपका विभिन्न देशबाट नेपाली भलिबल क्लबहरूको सहभागिता रहनेछ । समाजसेवीसमेत रहेका आयोजक एनईएससीका उपाध्यक्ष ख्याम विश्वकर्माका अनुसार प्रतियोगिता बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म चल्नेछ ।

एनईएससीका उपाध्यक्ष ख्याम विश्वकर्मा
प्रतियोगितामा जर्मनीको नेपाल भलिबल क्लब ह्याम्बर्ग, स्विट्जरल्यान्डको हिमालयन स्पोट्र्स टिम, फिनल्याण्डको हिमालयन स्पोट्र्स क्लब, नामोबुद्ध स्पोर्ट क्लब र साल्जबर्गको नेपाल कल्चर स्पोर्ट क्लब, नेपाल युरोपियन स्पोर्ट क्लब (एनईएससी)ले सहभागिता जनाउने निश्चित भएको उपाध्यक्ष विश्वकर्माले जानकारी दिए । प्रतियोगिताका विजेता टिमले ४ लाख ५ हजार रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र, उपविजेता टिमले २ लाख ५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै तेस्रो हुने टिमलाई कप र बल प्रदान गरिनेछ ।

एनईएससीका उपाध्यक्ष विश्वकर्माले यस प्रतियोगिता नेपाली समुदायबीचको एकता र समझदारीलाई अझ मजबुत बनाउने माध्यम भएको बताए । ‘खेलकुदले हामीलाई शारीरिक रुपमा मात्र होइन, मानसिक र सामाजिक रुपले पनि बलियो बनाउँछ,’ उनले भने, ‘युरोपमा रहेका नेपालीबीच आपसी चिनजान, मित्रता र आत्मीयता फैलाउने यस्तो आयोजनाले हाम्रो समुदायलाई अझ नजिक ल्याउनेछ ।’

एनईएससीका उपाध्यक्ष विश्वकर्माले नेपाली समुदायका युवा तथा खेलप्रेमीहरूलाई खेलकुदमार्फत सकारात्मक ऊर्जा र जीवनशैलीतर्फ आकर्षित गर्नुपर्नेमा जोड दिए । ‘खेलकुद भनेको अनुशासन, परिश्रम र समर्पणको माध्यम हो,’ उनले भने, ‘हामीले भलिबल जस्ता खेलहरूलाई मनोरञ्जनको माध्यम मात्र नभई सामाजिक एकताको आधार बनाउन खोजेका हौं ।’
प्रतियोगितामा दर्शकहरूको लागि साँझ सांस्कृतिक नृत्य र खानपानको रमाइलो कार्यक्रम पनि आयोजना गरिनेछ । एनईएससीले युरोपभरि रहेका नेपाली व्यवसायी, विद्यार्थी र अन्य क्षेत्रमा संलग्न सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहभागी भई खेलको अवलोकन गरी मनोरञ्जन लिन आग्रह पनि गरेको छ ।

‘खेलकुदको माध्यमबाट युरोपमा छरिएर रहेका नेपालीबीच आपसी सद्भाव बढाउने यस्तो पहललाई दीर्घकालीन रूपमा संस्थागत गर्ने लक्ष्य एनईएससीले लिएको छ,’ उपाध्यक्ष विश्वकर्माले भने, ‘इमान्दार खेल भावना, समय पालना र सौहार्दपूर्ण सहभागितामार्फत यसपटकको प्रतियोगिता अझ भव्य र सफल हुने विश्वास लिएका छौं ।’ सन् २०२० मा स्थापित नेपाल युरोपियन स्पोर्ट क्लब अष्ट्रिया (एनईएससी)ले बेला–बेला भलिबल प्रतियोगिता गर्नुका साथै विभिन्न देशमा आयोजना हुने प्रतियोगितामा समेत सहभागिता जनाउँदै आएको छ ।