
विराटनगर । नेपाली एम एम ए फाइटर रविन्द्र ढांटले म्याट्रिक्स फाइटर नाइटको उपाधि जितेका छन् ।
रविन्द्र बान्टमवेट बेल्ट प्राप्त गर्ने पहिलो नेपाली फाइटर हुन् ।
भारतको नोयडामा गएराति भएको खेलमा रविन्द्रले, साविक विजेता चोगंरेन कोरेन माथि शानदार जित हात पारेका हुन् । २६ वर्षीय रविन्द्र पहिलो राउन्ड देखिनै कोरेन माथि हाबी भएका थिए ।
उनी पहिलो राउन्डमा डिस्ट्यान्स स्ट्राइकमा ६-४, क्लिन्स स्ट्राइकमा ८-३ र ग्राउन्ड स्ट्राइक्समा ४६-८ ले अघि रहेका थिए । दोस्रो राउन्डमा कोरेनले रविन्द्र विरुद्ध पुनरागमनको प्रयास गरेका थिए । तर उच्च प्रदर्शन गरेका रविन्द्र कोरेनलाई रोक्न सफल भए ।
यो राउन्डमा रविन्द्र कुल स्ट्राइक्समा २३ र कोरेन १८ मा रहेका थिए । तेस्रो राउन्डको ५४ सेकेन्डमा रविन्द्रले कोरेनलाइ नक आउट गर्दै बान्टम वेट , बेल्ट आफ्नो नाममा लेखाएका हुन् ।
ब्याबसायिक करियरमा रविन्द्रको यो नवौं उपाधि हो । उनले आफ्नो जितको श्रेय प्रशिक्षक दिविज पिया प्रति समर्पित गरे । आफ्नो कठिन समयमा साथ दिएकोमा उनले दिविजलाई धन्यबाद दिए ।