भुटानमा जारी २० वर्षमुनीको एएफसी एशियन कप छनोटको तेस्रो खेलमा नेपाल पराजित

भुटानमा जारी एएफसी २० वर्षमुनीको महिला एशियन कप छनोटमा नेपाली टोलीले हारको सामना गरेको छ।

राजधानी थिम्पूमा हिजो भएको खेलमा नेपाली टोली उत्तर कोरियासंग ११ शुन्यले पराजित भएको हो । खेलको सुरुवातबाट मैदानमा फितलो देखिएको नेपाली टोलीले पहिलो हाफमा पाँच गोल आत्मसात गरेको थियो । त्यसैगरि, दोस्रो हाफमापनि नेपाली टोली मैदानमा कमजोर देखियो । अर्कोतर्फ ५ शुन्यले अग्रता बनाएको कोरियाली टोलीले दोस्रो हाफमा थप ६ गोल गर्न सफल भयो ।

यससंगै समूह ए को तीन खेलमा जित हात पार्दै कोरियाली टोलीले थाइल्याण्डमा हुने २० वर्षमुनीको एशियन कपको लागि स्थान पक्का गरेको छ । यसअघि, कोरियाले घरेलु टोली भुटानलाई १५ शुन्य र साउदी अरबलाई १० शुन्यले पराजित गरेको थियो ।

त्यसैगरि, नेपाली टोलीले पहिलो खेलमा भुटानसंग समान एक गोल गर्दै अंक बाढेको थियो भने, साउदी अरबलाई एक शुन्यले पराजित गरेको थियो ।