
विराटनगर । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रिति राई जोर्डनको महिला प्रो लिगमा खेल्न लागेकी छन्। उनले जोर्डन महिला लिगको दुई पटकको च्याम्पियन इतिहाद क्लबसँग सम्झौता गर्दै आफ्नो नयाँ यात्रा सुरू गर्न लागेकी हुन्। क्लबले मंगलबार औपचारिक रूपमा सम्झौता सार्वजनिक गर्दै प्रितिलाई ‘नेपाली मेसी’ भनेर स्वागत गरेको छ।
आगामी सेप्टेम्बर १८ बाट सुरु हुने लिगका लागि एक महिना अघि नै जोर्डन पुगेकी प्रितिसँगै क्लबमा तीन विदेशी खेलाडी रहेका छन्, जसमा अरु तीनै अल्जेरियाका हुन्। यसपटकको प्रतियोगितामा सन् २०२३ र २०२४ का च्याम्पियनसहित ६ क्लबले प्रतिस्पर्धा गर्नेछन्।
विदेशी लिगमा यो उनको दोस्रो अनुभव हो। यसअघि सन् २०२३ मा उनले भारतको किकस्टार्ट एफसीबाट खेलेकी थिइन्। सन् २०२१ मा १६ वर्षको उमेरमा राष्ट्रिय टोलीमा डेब्यू गर्दै गोल समेत गरेकी प्रिति हाल एपीएफ क्लबबाट घरेलु फुटबल खेल्दै आएकी छन्।
अरब क्षेत्रको लिग खेल्न जान लागेकी उनी दोस्रो नेपाली महिला खेलाडी हुन्। यसअघि राष्ट्रिय टोलीकी फरवार्ड रेखा पौडेल युएईको लिगमा खेल्दै आएकी छन्।